प्रधानमन्त्री बालेन्द्र शाहलक्षित राजेश हमालको टिप्पणी, देशको नेतृत्व तहको परिपक्वतामाथि प्रश्न
काठमाडौँ । महानायकका रूपमा परिचित वरिष्ठ अभिनेता राजेश हमालले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रियता र सीमा विवादका विषयमा एक गम्भीर स्टाटस लेख्दै देशको नेतृत्व तहको परिपक्वतामाथि प्रश्न उठाएका छन्।
अभिनेता हमालको यो अभिव्यक्ति केही दिनअघि प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको एक वक्तव्यप्रति लक्षित रहेको रूपमा बुझिएको छ। हमालले आफ्नो स्टाटसमा नेपालको सीमा सम्बन्धमा चल्ने बहसहरूलाई बौद्धिक र कूटनीतिक रूपमा केलाउँदै ‘सीमापार अतिक्रमण’ (क्रस बोर्डर अकुपेसन) र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ (स्टेट स्पोन्सर्ड टेरिटोरियल इन्क्रोचमेन्ट) बीचको तात्विक भिन्नता प्रष्ट पारेका छन्।
हमालका अनुसार ‘सीमापार अतिक्रमण’ प्रायः सरकारभन्दा बढी स्थानीय नागरिक र भौगोलिक परिस्थितिसँग सम्बन्धित हुन्छ। नेपाल–भारत खुला सीमाका कारण दुवै देशका नागरिकहरू शताब्दीयौंदेखि व्यापार, खेतीपाती र सामाजिक सम्बन्धमा जोडिएको उल्लेख गर्दै उनले नदीहरूले धार परिवर्तन गर्नु, सीमा स्तम्भहरू हराउनु वा क्षतिग्रस्त हुनु र बस्तीहरू विस्तार हुनु जस्ता विषय रणनीतिक विस्तार नभएर प्रशासनिक र स्थानीय प्रकृतिका समस्या भएको बताएका छन्। यस्ता समस्याको समाधान आपसी संवाद, संयुक्त सर्वेक्षण र सहकार्यबाट सम्भव हुने उनको तर्क छ।
तर, ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ को प्रकृति पूर्णतः फरक र गम्भीर हुने हमालले उल्लेख गरेका छन्। कुनै राष्ट्र स्वयं विवादित भूभागमा आफ्नो नियन्त्रण विस्तार गर्न वा कायम राख्न प्रत्यक्ष रूपमा सक्रिय हुँदा यस्तो अतिक्रमण हुने र यसमा व्यक्तिहरू नभई राज्यका संस्थाहरू नै संलग्न हुने उनले प्रष्ट पारेका छन्।
सडक निर्माण, प्रशासनिक संरचना खडा गर्ने, सुरक्षा निकाय परिचालन, सरकारी नक्सा संशोधन र राज्यको अधिकार औपचारिक रूपमा लागू गर्ने जस्ता कार्य यस अन्तर्गत पर्ने भन्दै उनले यसको सबैभन्दा प्रमुख उदाहरण कालापानी–लिपुलेक–लिम्पियाधुरा क्षेत्र रहेको बताएका छन्।
स्टाटसको अन्त्यमा कूटनीतिक संवेदनशीलता र देशको नेतृत्वको क्षमतामाथि जोड दिँदै हमालले लेखेका छन्, “आजको डामाडोल र अनिश्चित विश्व राजनीतिक परिवेशमा कुनै राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा पर्याप्त परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि नहुँदा राष्ट्रले गम्भीर चुनौतीहरू सामना गर्नुपर्ने अवस्था आउन सक्छ।”
हलुका र सतही टिप्पणीभन्दा गम्भीर कूटनीतिक मामिलामा परिपक्व नेतृत्व आवश्यक हुनेतर्फ संकेत गर्दै हमालले राखेको यो विचारलाई यतिबेला सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।







डिसी नेपाल







Facebook Comment