नेपालमै पहिलोपटक ‘फुट एण्ड एङ्कल डिफर्मिटी करेक्सन कोर्स’ सम्पन्न, मेडिसिटीद्वारा ८ बिरामीलाई निःशुल्क उपचार

डिसी नेपाल
२५ जेठ २०८३ १७:४९

काठमाडौं। नेपाल मेडिसिटी अस्पतालको सहयोग तथा अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था ‘स्टेप्सटुवाक’ (Steps2Walk) को आयोजनामा नेपालमै पहिलोपटक सञ्चालन गरिएको चारदिने ‘फुट एण्ड एङ्कल डिफर्मिटी करेक्सन कोर्स’ सफलतापूर्वक सम्पन्न भएको छ।

जेठ २० देखि २३ गते (सन् २०२६) सम्म मेडिसिटी अस्पतालमा सञ्चालन भएको यस विशेष कार्यक्रमका अवसरमा उपचारका लागि आएका आठ जना बिरामीलाई अस्पतालले पूर्ण रूपमा निःशुल्क सेवा प्रदान गरेको छ।

यस कोर्षले जटिल खालका खुट्टा तथा गोलीगाँठो (फुट एण्ड एङ्कल) को विकृति भएका बिरामीको उपचार गर्नुका साथै चिकित्सकहरूबीच ज्ञान आदान–प्रदान र उनीहरूको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। यस अन्तर्राष्ट्रिय स्तरको कार्यक्रमलाई नेपालमा सम्भव तुल्याउन नेपाल मेडिसिटीको अर्थोपेडिक विभागले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो, जसको नेतृत्व र समन्वय अस्पतालका फुट एण्ड एङ्कल विशेषज्ञ चिकित्सक डा. दमन झा गरेका थिए।

विश्वका सीमित स्रोत-साधन भएका समुदायमा खुट्टा तथा गोलीगाँठोका जटिल विकृतिहरूको निःशुल्क शल्यक्रिया, पुनःस्थापना सेवा र स्थानीय स्वास्थ्यकर्मीहरूको क्षमता विकासमा सक्रिय संस्था स्टेप्सटुवाकले यसको मुख्य आयोजना गरेको हो भने नेपाल मेडिसिटीले स्थानीय संयोजन, व्यवस्थापन तथा प्राविधिक सहजीकरणको जिम्मेवारी सम्हालेको थियो।

कार्यक्रमको उद्घाटन समारोहमा नेपाल मेडिसिटीका अध्यक्ष डा. उपेन्द्र महतोले अस्पताल केवल उपचार केन्द्र मात्र नभई निरन्तर सिकाई, व्यावसायिक विकास र ज्ञान आदान–प्रदानको एउटा बलियो मञ्चका रूपमा स्थापित भएको विचार व्यक्त गरे।

स्वास्थ्य सेवाको वास्तविक प्रगति केवल पूर्वाधार र प्रविधिले मात्र नभई ज्ञानको साझेदारी, सहकार्य र दक्ष जनशक्ति निर्माणबाट सम्भव हुने उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय विशेषज्ञ टोलीलाई नेपाली चिकित्सकहरूसँग अनुभव बाँडेकोमा धन्यवाद दिए।

यसैगरी, स्टेप्सटुवाकका संस्थापक तथा अध्यक्ष डा. मार्क मायर्सनले सम्पूर्ण सहभागीहरूलाई स्वागत गर्दै तालिम, सहकार्य र सेवाका माध्यमबाट बिरामीको उपचारस्तर सुधार गर्ने साझा लक्ष्यलाई पुनः दोहोर्‍याए।

यस विशेष कोर्षमा विश्वप्रसिद्ध फुट एण्ड एङ्कल विशेषज्ञहरू चिलीका डा. क्रिस्टियन ओर्टिज, भारतका डा. राजेश साइमोन, पोर्चुगलका डा. म्यानुअल साउसा र अमेरिकाका डा. नरेन्द्र गुर्बानीका साथै स्टेप्सटुवाकसँग आबद्ध अन्तर्राष्ट्रिय प्रशिक्षार्थी चिकित्सकहरूको समेत सहभागिता रहेको थियो।

चार दिनसम्म चलेको यस कार्यक्रमको पहिलो दिन शैक्षिक प्रस्तुतीकरण र वैज्ञानिक सत्रहरू आयोजना गरिएका थिए भने दोस्रो दिन बिरामीहरूको विस्तृत परीक्षण, इतिहास सङ्कलन र शल्यक्रियाको योजना बनाइएको थियो।

त्यस्तै, तेस्रो र चौथो दिन देशैभरिका विभिन्न अस्पतालका अर्थोपेडिक तथा फुट एण्ड एङ्कल क्षेत्रमा रुचि राख्ने चिकित्सकहरूको सहभागितामा प्रत्यक्ष शल्यक्रिया (लाइभ सर्जरी) सत्रहरू सञ्चालन गरिएका थिए। नेपाल मेडिसिटीका फुट एण्ड एङ्कल सर्जन डा. दमन झाले नेपालमा पहिलोपटक यस्तो विशेष कोर्ष आयोजना भएको जानकारी दिँदै प्रत्यक्ष अप्रेसन सत्रमार्फत युवा चिकित्सकहरूले विश्वस्तरका विशेषज्ञहरूबाट प्रत्यक्ष सिक्ने सुनौलो अवसर पाएको बताए।

उनका अनुसार कार्यक्रम अन्तर्गत बालबालिकादेखि वृद्धवृद्धासम्मका जटिल खुट्टाको विकृतिबाट प्रभावित ८ जना बिरामीहरूको निःशुल्क शल्यक्रिया तथा उपचार गरिएको छ, जसले भविष्यमा नेपालमै उच्च स्तरीय सेवा विकास गर्न र थप बिरामीलाई लाभान्वित बनाउन मद्दत गर्नेछ।

नेपाल मेडिसिटीले यस कार्यक्रमलाई केवल उपचार सेवा मात्र नभई ज्ञान हस्तान्तरण, सीप विकास र नेपालको फुट एण्ड एङ्कल उपचार क्षमताको दीर्घकालीन सुदृढीकरणतर्फको एउटा ऐतिहासिक कदमका रूपमा लिएको छ, जसबाट भविष्यमा नेपालमै यस्ता जटिल समस्याहरूको विशेषज्ञ उपचार सहज रूपमा उपलब्ध हुन थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *