‘प्राथमिकता निर्धारण गरी विपद्को पूर्वतयारीमा लाग्नुपर्छ’
काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्राथमिकता निर्धारण गरी विपद् व्यवस्थापन र पूर्वतयारीमा लाग्न विषयगत क्षेत्रका प्रतिनिधिहरूलाई आग्रह गरेको छ।
यस वर्षको मनसुनको पूर्वतयारीका सन्दर्भमा आज सिंहदरबारमा भएको विषयगत क्षेत्रका नेतृत्वकर्ता र सहनेतृत्वकर्ता (लिड्स र कोलिड्स) मन्त्रालय र सङ्घसंस्थाका प्रतिनिधिहरूसँगको छलफलमा प्राधिकरणले मनसुन भित्रिने समय भइसकेकाले आइपर्ने मनसुनजन्य विपद्को पूर्वतयारीमा जुट्न आग्रह गरेको हो।
प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले प्राथमिकता निर्धारण गरी पूर्वतयारीका काममा लाग्न सबैलाई आग्रह गरे। उनले विषयगत समितिलाई प्राप्त जिम्मेवारी पूर्ण रूपमा कार्यान्वयन गरेको खण्डमा प्रर्वतयारीका काम प्रभावकारी हुनेसमेत बताए।
छलफलमा विषयगत क्षेत्रका लिड्स-मन्त्रालय र कोलिड्स-विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले आआफ्नो क्षेत्रमा भइरहेको पूर्वतयारीबारे जानकारी गराएका थिए। गृह मन्त्रालयका सहसचिव, विपद् तथा द्वन्द्ध व्यवस्थापन महाशाखा प्रमुख सुरेश पन्थीले विपद् जोखिम न्यूनीकरण सरकारको प्राथमिकतामा रहेकाले सोही अनुसार काम गर्नुपर्ने बताए।
स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षा, पोषणलगायत गरी ११ वटा विषयगत क्षेत्रहरू तोकिएका छन्। प्राधिकरणले यसअघि विपद् व्यवस्थापनसम्बन्धी राष्ट्रिय कार्ययोजना तयार पारी लागू गरिसकेको छ। सोहीअनुसार नेपालमा ५१ हजार परिवारका दुई लाख २६ हजार बढी नागरिक प्रभावित हुने आकलन गरिएको छ।
सोहीअनुसार विषयगत समिति तयारीमा रहनुपर्नेमा जोड दिइएको कार्यकारी प्रमुख कोइरालाले बताए। उनका अनुसार यसपालिको मनसुनमा कम वर्षा हुने र गर्मी बढी हुने आकलन गरिएको छ।







डिसी नेपाल







Facebook Comment