दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
दाङ। दाङको लमहीमा सडक किनारमा रोकिराखेको एक ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको दुःखद मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
आज बिहान लमही नगरपालिका वडा नम्बर ५ स्थित रातोडाँडामा रोकिराखेको ना ५ ख ९३३६ नम्बरको ट्रकको पछाडि लु १२ प ९८४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठोक्किँदा सो दुर्घटना भएको हो।
दुर्घटनामा परी मोटरसाइकल चालक लमही नगरपालिका वडा नम्बर ७ हसनापुर निवासी अन्दाजी ३७ वर्षीय जीवन गिरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
दुर्घटनालगत्तै गम्भीर घाइते भएका गिरीलाई तत्काल उपचारका लागि लमही अस्पताल पुर्याइएको थियो, तर अस्पतालका चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।
सोही दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार सोही स्थानका अन्दाजी ३२ वर्षीय धनिराम चौधरी घाइते भएका छन्। घाइते चौधरीको हाल घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।







डिसी नेपाल







Facebook Comment