मेरियट इन्टरनेशनलका बोर्ड अध्यक्ष डेभिड मेरियटद्वारा मोक्सी काठमाडौंको विशेष भ्रमण र अवलोकन
काठमाडौं। मेरियट इन्टरनेशनलका बोर्ड अध्यक्ष श्री डेभिड मेरियटको हालै सम्पन्न नेपाल भ्रमणका क्रममा मोक्सी काठमाडौंले उनलाई भब्य स्वागत गरेको छ।
अध्यक्ष मेरियटको यो भ्रमण होटलका लागि एक महत्वपूर्ण उपलब्धि हुनुका साथै यस क्षेत्रको नवीनता, मौलिक संस्कृति तथा उत्कृष्ट आतिथ्य अनुभवप्रति मेरियट इन्टरनेशनलले दिँदै आएको उच्च प्राथमिकताको बलियो प्रमाण हो।
यस विशेष अवसरमा अध्यक्ष मेरियटसँगै मेरियट इन्टरनेशनलको उच्चस्तरीय नेतृत्व टोली समेत काठमाडौं आइपुगेको थियो।
प्रतिनिधिमण्डलमा एशिया प्यासिफिक (ग्रेटर चाइना बाहेक) का अध्यक्ष राजीव मेनन, प्रमुख सञ्चालन अधिकृत निराज गोविल, प्रमुख लजिङ प्रोडक्ट तथा सेवा अधिकृत क्रिस्टियानो रिनाल्डी, दक्षिण एशियाका वरिष्ठ उपाध्यक्ष किरण एन्डिकोट, एनआईबीएनका मार्केट उपाध्यक्ष अरुण कुमार तथा दक्षिण एशियाका वरिष्ठ सञ्चालन निर्देशक दिलप्रीत सिंह बिन्द्रा सहभागी थिए।
उच्चपदस्थ अतिथिहरूलाई मोक्सी काठमाडौंको टोलीले ब्रान्डको जीवन्त ऊर्जा, सिर्जनशीलता र मौलिक आतिथ्य संस्कृति झल्काउँदै न्यानो र जोशिलो स्वागत गरेको थियो। स्वागत कार्यक्रमलाई थप मनोरञ्जक र विशेष बनाउन होटलका कर्मचारीहरूले आकर्षक फ्ल्यास मोब (सामूहिक नृत्य) समेत प्रस्तुत गरेका थिए, जसले मोक्सीको रमाइलो पहिचानलाई प्रस्तुत गर्दै अतिथिहरूका लागि एक अविस्मरणीय क्षण सिर्जना गर्यो।
औपचारिक स्वागत पश्चात मेरियट इन्टरनेशनलका अध्यक्ष मेरियटले मोक्सी काठमाडौंका क्याप्टेन सुवर्ण थापासँगै होटलको विस्तृत अवलोकन गरे।
भ्रमणका क्रममा उनले होटलको आधुनिक डिजाइन, विविधतायुक्त खानपान सेवा तथा विशिष्ट अतिथि अनुभवहरूको नजिकबाट जानकारी लिए, जसले मोक्सी काठमाडौंलाई नेपालको आतिथ्य क्षेत्रमा एक अग्रणी लाइफस्टाइल गन्तव्यका रूपमा स्थापित गरिरहेको छ।
यस गरिमामय भ्रमणले बोल्ड, आकर्षक र स्मरणीय आतिथ्य प्रदान गर्ने मोक्सी काठमाडौंको प्रतिबद्धतालाई थप बल पुर्याएको छ। नयाँ पुस्ताका यात्रुहरूका लागि आतिथ्य सेवाको नयाँ परिभाषा स्थापित गर्ने होटलको दृष्टिकोण र उपलब्धिलाई शीर्ष नेतृत्व समक्ष प्रस्तुत गर्न पाउनु आफ्नो टोलीका लागि विशेष अवसर भएको होटलले जनाएको छ।
आगामी दिनमा पनि यस्तै जीवन्त अनुभवहरू सिर्जना गर्दै नेपालमा मेरियट इन्टरनेशनलको उपस्थितिलाई थप सुदृढ र उचाइमा पुर्याउने विश्वास होटल व्यवस्थापनले व्यक्त गरेको छ।







डिसी नेपाल







Facebook Comment