बछ्यौलीका ५० महिलाको सामूहिक प्रयास: दुग्धजन्य उद्योगबाट बन्दै आत्मनिर्भर

डिसी नेपाल
३ भदौ २०८३ १३:४१

नारायणगढ (चितवन)। चितवनको रत्ननगर नगरपालिका–६ बछौलीका महिलाहरूले सामूहिक रूपमा दूध विविधिकरण पसल सञ्चालनमा ल्याएर आत्मनिर्भर बन्नेतर्फ गतिलो कदम चालेका छन्। स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्ने र सौराहा आउने विदेशी तथा स्वदेशी पाहुनाहरूलाई अर्गानिक स्वाद चखाउने उद्देश्यले उनीहरूले यो उद्योग सञ्चालन गरेका हुन्।

नारी चेतना मध्यवर्ती महिला उद्यमी समूहमा आबद्ध ५० जना महिलाले आफ्नै लगानी र श्रममार्फत यो डेरी पसल सञ्चालनमा ल्याएका हुन्। स्थानीय कृषि तथा पशुपालनलाई प्रोत्साहन गर्दै महिलाहरूलाई रोजगारी र उद्यमशीलतामा जोड्ने मुख्य ध्येय रहेको समूहकी अध्यक्ष सुष्मा पौडेल बताउँछिन्। विगत चार–पाँच वर्षदेखि व्यक्तिगत रूपमा डेरी सञ्चालन गरेर राम्रो आम्दानी गर्दै आएकी अध्यक्ष पौडेलले अन्य दिदीबहिनीलाई पनि आर्थिक रूपमा सबल बनाउन सामूहिक पसलको अवधारणा ल्याएकी हुन्।

यस उद्योग स्थापनाका लागि प्रदेश सरकारबाट १० लाख रुपैयाँ अनुदान प्राप्त भएको थियो। यस्तै, समूहमा आबद्ध ५० जना सेयर सदस्यबाट प्रतिव्यक्ति २५ हजार रुपैयाँका दरले १२ लाख ५० हजार रुपैयाँ सङ्कलन गरी कुल पुँजी जुटाइएको हो। अहिले यस पसलमा दूध, दही, घिउ, पनिर, चिज, बटर, आइसक्रिम, खुवा, चिया र कफीलगायतका परिकार उपलब्ध छन्। हाल दैनिक रूपमा मही, दूध, दही, घिउ, पनिर र खुवालगायतका दुग्धजन्य पदार्थ उत्पादन भइरहेका छन् भने बजारको मागअनुसार भविष्यमा उत्पादन क्षमता अझ विस्तार गर्ने योजना पनि उनीहरूको छ।

सौराहा एक प्रमुख पर्यटकीय क्षेत्र भएकाले यहाँ बजारको कुनै कमी छैन। यस उद्योगले गर्दा स्थानीय स्तरमै महिलाले रोजगारी पाएका छन् भने पर्यटकले पनि ताजा र स्थानीय दुग्धजन्य परिकारको स्वाद लिन पाएका छन्। समूहमा आबद्ध केही महिलाले आफ्नै घरमा पशुपालन गरेर दूध उपलब्ध गराउँदै आएका छन्। आगामी दिनमा थप महिलालाई पशुपालनतर्फ प्रोत्साहित गरी उद्योगलाई आवश्यक पर्ने सम्पूर्ण दूध समूहकै सदस्यहरूको फर्मबाट आपूर्ति गर्ने दीर्घकालीन योजना पनि उनीहरूको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *