कांग्रेस एकता र महाधिवेशन निष्पक्षताका लागि संयन्त्र बनाउन डा. महतको प्रस्ताव

डिसी नेपाल
२८ जेठ २०८३ १०:५८

काठमाडौं। नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनअघि देखिएको आन्तरिक मतभेद समाधान गर्न साझा सहमतिको संयन्त्र बनाउनुपर्ने आवाज बलियो बन्दै गएको छ। पार्टीभित्र नियमित र विशेष महाधिवेशनबाट बनेका संरचनाबीच देखिएको दूरी हटाउँदै बृहत्तर एकता कायम गर्न यस्तो संयन्त्र आवश्यक रहेको नेताहरूले बताएका छन्।

नेपाली कांग्रेसका निवर्तमान प्रवक्ता प्रकाशशरण महत ले पार्टी अहिले गम्भीर मोडमा रहेको उल्लेख गर्दै एकता बिना संगठन थप कमजोर हुने जोखिम रहेको बताएका छन्।

उनका अनुसार हाल पार्टीभित्र नियमित १५औँ महाधिवेशनको तयारीमा रहेका समूह र विशेष महाधिवेशनबाट नेतृत्वमा आएका समूहबीच देशभर नै मनोवैज्ञानिक दूरी बढ्दै गएको छ, जसले संगठनात्मक कमजोरी निम्त्याउन सक्ने अवस्था सिर्जना गरेको छ।

महतले वर्तमान परिस्थितिमा सबैभन्दा पहिलो आवश्यकता पार्टीको बृहत्तर एकता रहेको भन्दै त्यसका लागि वर्तमान नेतृत्वबाट गम्भीर पहल हुनुपर्ने बताए। उनले दुवै पक्षबीच प्रत्यक्ष संवादमार्फत साझा समझदारीमा पुग्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।

उनका अनुसार १५औँ महाधिवेशन निष्पक्ष, पारदर्शी र सबै पक्षको स्वामित्व रहने गरी सम्पन्न गर्न साझा संयन्त्र अपरिहार्य छ। यस्तो संयन्त्रले महाधिवेशनको प्रक्रिया, क्रियाशील सदस्यताको विवाद र विधान संशोधनजस्ता विषय टुंग्याउनुपर्ने उनको भनाइ छ।

महतले प्रस्तावित संयन्त्रलाई कुनै पद वा भागबन्डाको माध्यम नभई संक्रमणकालीन व्यवस्थाका रूपमा व्याख्या गर्दै दुवै पक्षलाई सम्मानपूर्वक समेट्ने संरचना आवश्यक रहेको बताए। उनका अनुसार यसले महाधिवेशनप्रति विश्वास बढाउने र आउने नेतृत्व सबैका लागि स्वीकार्य हुने वातावरण तयार गर्नेछ।

क्रियाशील सदस्यताको विषयमा देखिएको अन्योलप्रति टिप्पणी गर्दै उनले वर्षौँदेखि नवीकरण गरिसकेका सदस्यलाई प्रक्रियागत अस्पष्टताका कारण बाहिर राख्न नहुने बताए। उनले डिजिटल अद्यावधिकको जिम्मेवारी केन्द्रले लिनुपर्ने र तल्लो तहलाई दोषारोपण गर्नु उचित नहुने धारणा राखे।

महतले पार्टी नेतृत्वमा रहेका व्यक्तिहरूलाई अहिलेको संरचना अस्थायी प्रकृतिको भएको उल्लेख गर्दै दीर्घकालीन निर्णयहरू १५औँ महाधिवेशनले नै गर्नुपर्ने बताए। उनले हाल भइरहेको संवादलाई अझ औपचारिक र व्यवस्थित बनाउन आवश्यक रहेको पनि बताए।

उनका अनुसार पार्टी एकताबद्ध नभए जनताको विश्वास पुनः जित्न कठिन हुनेछ। त्यसैले तत्काल संवाद र सहमतिका आधारमा अघि बढ्नु अहिलेको मुख्य आवश्यकता भएको उनले दोहोर्‍याए।

कांग्रेसभित्र पछिल्लो समय महाधिवेशनको तयारी, क्रियाशील सदस्यता व्यवस्थापन र विधान संशोधनका विषयमा देखिएको बहसका बीच साझा सहमतिको संयन्त्र बनाउने प्रस्तावले नयाँ राजनीतिक बहस सुरु गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *