इनर्जी ड्रिंकको विश्वव्यापी प्रतिबन्ध र नेपालको भयावह यथार्थ: बोतलभित्र लुकेको मृत्यु रोक्न कहिले ब्युँझिने सरकार?

डिसी नेपाल
२८ जेठ २०८३ १८:१२

काठमाडौं। क्यानडाको क्युबेक प्रान्तस्थित हिउँले ढाकिएको ‘मोरिन हाइट्स’ मा हिउँदको एक दिन १५ वर्षीय किशोर ज्याकरी मिरोन आफ्ना विद्यालयका साथीहरूसँग स्किइङको मज्जा लिइरहेका थिए। खेलको थकान मेट्न उनले क्याफेटेरियाको भेन्डिङ मेसिनबाट एउटा रेडबुल किनेर पिए। बट्टा रित्याएर उनी जतिबेला माथि जाने ‘चेयरलिफ्ट’ मा बस्दै थिए, अचानक उनको मुटुको धड्कन अनियन्त्रित भयो र उनी त्यहीँ ढले। अस्पताल पुर्‍याउँदा नपुर्‍याउँदै

उनको श्वास थामिइसकेको थियो। पोस्टमार्टमको विस्तृत अनुसन्धानले संसारलाई स्तब्ध बनाउने तथ्य उजागर गर्‍यो। ज्याकरीलाई ध्यान केन्द्रित गर्न गाह्रो हुने समस्या थियो र उनी डाक्टरको सिफारिसमा ‘बाइफेन्टिन’ नामक औषधि खाइरहेका थिए।

उक्त औषधिको रसायन र रेडबुलमा हुने अत्यधिक क्याफिनको मिश्रणले ज्याकरीको मुटुमा ‘घातक ककटेल’ को काम गरिदियो। नतिजा स्वरूप, ‘कार्डियाक एरिथमिया’ अर्थात् मुटुको धड्कन अचानक अनियन्त्रित भएर एउटा उदीयमान जीवनको सदाका लागि अन्त भयो।

यो एउटा यस्तो हृदयविदारक घटना थियो, जसले क्यानडाको समग्र कानुनी व्यवस्था र जनस्वास्थ्यको बहसलाई नै नयाँ मोड दियो। ज्याकरीका आमाबुबा डेभिड मिरोन र भेरोनिका मार्टिनेजले इनर्जी ड्रिंक विरुद्ध कडा कानुनी आन्दोलन सुरु गरे।

हजारौं नागरिकको हस्ताक्षरसहित सरकारलाई दिएको दबाबको परिणाम स्वरूप, क्युबेक सरकारले ऐतिहासिक रूपमा ‘बिल : ज्याकरी मिरोन ऐन’ अर्थात् युवाहरूको स्वास्थ्यमा ऊर्जावर्धक पेय पदार्थको हानिकारक प्रभावहरू रोक्ने ऐन संसद् (नेसनल एसेम्बली) मा दर्ता गरेको छ।

क्युबेककी स्वास्थ्य मन्त्री सोनिया बेलाङ्गरले दर्ता गराएको यो कानुन पूर्ण रूपमा लागू भएपछि १६ वर्षमुनिका बालबालिकालाई रेडबुल लगायतका कुनै पनि इनर्जी ड्रिंक बेच्न पूर्ण प्रतिबन्ध लाग्नेछ। यो प्रतिबन्ध अनलाइन बिक्री र स्वचालित भेन्डिङ मेसिनहरूमा समेत लागू हुनेछ।

नियम मिचेर बालबालिकालाई यस्ता पेय पदार्थ बेच्ने पसल, मेसिन सञ्चालक वा किनिदिने वयस्कलाई ६२ हजार ५०० क्यानेडियन डलर अर्थात् करिब ६० लाख नेपाली रुपैयाँसम्म भारी जरिवाना हुने र नियम उल्लंघन गर्ने १६ वर्षमुनिका नाबालिगलाई समेत १०० डलर जरिवाना गरिने कडा प्रावधान राखिएको छ।

यससँगै क्युबेक, इनर्जी ड्रिंकमा उमेरको प्रतिबन्ध लगाउने उत्तर अमेरिकाकै पहिलो राज्य बन्दैछ। विधेयक दर्ता गर्ने विशेष अवसरमा मृतक किशोरका अभिभावक संसद् भवनमा उपस्थित भएर क्युबेककी प्रिमियर क्रिस्टिन फ्रेचेटसँग भेटघाट गरेका थिए, जहाँ प्रिमियरले अभिभावकहरूको लचिलोपन रनिरन्तरको प्रयासकै कारण आज यो विधेयक आउन सम्भव भएको बताउँदै धन्यवाद दिइन्।

स्वास्थ्य मन्त्री बेलाङ्गरले यस्ता पेय पदार्थको उपभोगसँग जोडिएका जोखिमहरूलाई धेरैजसो मानिसले सामान्य रूपमा लिने गरेको बताउँदै यो चिन्ताजनक सार्वजनिक स्वास्थ्य समस्या भएको उल्लेख गरेकी छन्।

यद्यपि, यो विधेयकलाई तुरुन्तै पारित गर्न संसद्मा राजनीतिक चुनौती पनि देखिएको छ। क्युबेकको कन्जर्भेटिभ पार्टीका तर्फबाट संसद्मा एक्लो सिट भएकी सांसद मैते ब्लान्चेट भेजिनाले कतिपय औषधिहरूले अङ्गुरसँग रियाक्सन गर्ने उदाहरण दिँदैमा अङ्गुर नै प्रतिबन्ध लगाउन नसकिने तर्क गर्दै हतारमा कानुन ल्याउन नहुने अडान राखेकी छन्।

क्यानेडियन बेभरेज एसोसिएसनको तथ्यांक उद्धृत गर्दै उनले किशोर-किशोरीहरूको क्याफिन उपभोगमा ऊर्जावर्धक पेयको हिस्सा मात्र ११ प्रतिशत रहेको बताउँदै आगामी आम निर्वाचनअघि यसको औचित्यमाथि थप बहस हुनुपर्ने माग गरेकी छन्।

कन्जर्भेटिभ पार्टीका नेता एरिक डुहाइमले पनि बालबालिकाको सुरक्षा सबैको चाहना भए पनि कानुन हतारमा नभई विशेषज्ञहरू, डाक्टरहरू, फर्मासिस्टहरू, उद्योगीहरू र खुद्रा व्यापारीहरूसँग छलफल गरेर मात्र ल्याउनुपर्ने बताएका छन्।

प्रिमियर फ्रेचेटले संसद्को चालु अधिवेशन सकिनुअघि नै यो विधेयक पारित गर्ने प्रयास गरिरहेकी छन्, तर संसदीय नियमअनुसार द्रुतमार्गबाट कानुन पारित गर्न सबै सांसदहरूको सर्वसम्मत समर्थन आवश्यक पर्ने हुनाले विपक्षी सांसदले यसलाई तत्कालका लागि रोक्न सक्ने शक्ति राख्छिन्।

यद्यपि, ‘क्युबेक सोलिडेयर’, ‘क्युबेक लिबरल्स’ र ‘पार्टी क्युबेकोइस’ जस्ता प्रमुख राजनीतिक दलहरूका साथै अभिभावक, शिक्षक, विद्यालय र जनस्वास्थ्य संघहरूले भने यो विधेयकको पूर्ण समर्थन गरेका छन्।

क्युबेकको फर्मासिस्टहरूको आधिकारिक संस्थाले प्रतिबन्धको पक्षमा आवाज उठाएलगत्तै त्यहाँको चर्चित ‘फ्यामिलिप्रिक्स’ फार्मेसी चेनले गत महिनादेखि नै आफ्ना पसलका र्‍याकहरूबाट ऊर्जावर्धक पेय पदार्थहरू हटाउन सुरु गरिसकेको छ।

क्यानडाको यो घटना कुनै नौलो वा एक्लो उदाहरण होइन, संसारभर रेडबुल जस्ता इनर्जी ड्रिंकका कारण ज्यान गुमाउनेहरूको सूची निकै लामो र भयावह छ। सन् २०११ मा न्युयोर्कका ३३ वर्षीय कोरी टेरीको बास्केटबल खेलिरहेको बेला रेडबुल पिएलगत्तै अचानक ‘कार्डियाक एरेस्ट’ का कारण मृत्यु भएको थियो, जसको विरुद्ध परिवारले ८५ मिलियन डलरको मुद्दा हालेपछि यो विषय पहिलोपटक विश्वव्यापी बहसमा आएको थियो।

यस्तै, दुःखद नियति आयरल्याण्डका १८ वर्षीय विद्यार्थी रोस कोनीले भोगे, जो बास्केटबल खेलकै क्रममा रेडबुल पिएर बेहोस भई ढलेका थिए। त्यसैगरी, एरिजोनाकी १६ वर्षीया लाना हामानले मेक्सिकोमा बिदा मनाउने क्रममा लगातार धेरै वटा रेडबुल पिउँदा समुद्र तटमै घातक हृदयघातको सिकार हुनुपर्‍यो।

हालै टेक्ससकी १७ वर्षीया लारिसा रोड्रिगेजको पनि रेडबुल खाँदा मुटुको मांसपेशी कमजोर भई मृत्यु भयो भने फ्लोरिडाका ४६ वर्षीय डेनिस ब्राउनले अत्यधिक क्याफिनयुक्त पेय पिएपछि ज्यान गुमाए।

म्यारिल्याण्डकी १४ वर्षीया अनाइस फोर्नियरले त लगातार दुई दिन रेडबुल पिएपछि क्याफिनको विषाक्तताका कारण ज्यान गुमाउनु परेको थियो। अमेरिकी खाद्य तथा औषधि प्रशासनको आधिकारिक रेकर्डले पनि रेडबुलका कारण मुटु र मस्तिष्कमा गम्भीर असर परी अस्पताल पुग्नेहरूको संख्या वार्षिक हजारौँ रहेको पुष्टि गर्छ।

एकपछि अर्को गरी देखिएका यस्ता घटनासँगै विश्वका कयौँ देशहरूले इनर्जी ड्रिंकमाथि कडा कानुनी प्रतिबन्ध लगाइसकेका छन्। लिथुआनिया सन् २०१४ मा १८ वर्ष मुनिकालाई इनर्जी ड्रिंक बिक्रीमा प्रतिबन्ध लगाउने विश्वकै पहिलो देश बनेको थियो।

त्यसैगरी पोल्यान्ड, लाटभिया, hङ्गेरी, रोमानिया, बुल्गेरिया र टर्की जस्ता युरोपेली मुलुकहरूले पनि १८ वर्ष मुनिका नाबालिगहरूलाई यसको बिक्रीमा पूर्ण रोक लगाएका छन्।

कजाकस्तानले त अझ कडा नियम ल्याउँदै २१ वर्षभन्दा कम उमेरका लागि यसको बिक्रीमा प्रतिबन्ध लगाएको छ भने स्पेन र नर्वेले हालै १६ वर्ष मुनिका बालबालिकाका लागि इनर्जी ड्रिंक प्रतिबन्ध गर्ने घोषणा गरेका छन्।

इनर्जी ड्रिंकले स्वास्थ्यमा पुर्‍याउने तत्कालीन र दीर्घकालीन असरबारे विश्व स्वास्थ्य संगठन, अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र ‘जोन्स हप्किन्स मेडिसिन’ जस्ता प्रतिष्ठित स्वास्थ्य संस्थाहरूले लगातार गम्भीर चेतावनी दिँदै आएका छन्।

विभिन्न प्रतिवेदनहरूका अनुसार एउटै इनर्जी ड्रिंकको क्यानमा कफीको तुलनामा ३ देखि ४ गुणा बढी क्याफिन, अत्यधिक चिनी तथा टोरिन र ग्वाराना जस्ता उत्तेजक तत्वहरू हुन्छन्।

यी स्वास्थ्य निकायहरूले इनर्जी ड्रिंकले बालबालिकामा डिहाइड्रेसन, अनिन्द्रा, छटपटी, उच्च रक्तचाप, मुटुको धड्कनमा गडबडी र कलेजो तथा मिर्गौलामा गम्भीर असर पुर्‍याउने प्रमाणित गरिसकेका छन्।

स्वास्थ्य विज्ञहरूले वयस्कका लागि केही मात्रामा क्याफिन सुरक्षित देखिए पनि विकासोन्मुख मस्तिष्क र शरीर भएका बालबालिकाका लागि यो विषसमान हुन सक्ने भन्दै यसको विकल्पमा शुद्ध पानी, दूध वा प्राकृतिक फलफूलको रस मात्र प्रयोग गर्न सुझाव दिएका छन्।

विकसित देशहरूले आफ्ना नागरिकको ज्यान बचाउन इनर्जी ड्रिंकमाथि उमेर हद र कडा कानुन बनाइरहँदा, नेपालमा भने दृश्य ठीक उल्टो छ र यहाँ रेडबुलको ‘व्यापारिक दादागिरी’ चलिरहेको छ।

जुन पेय पदार्थलाई विकसित देशहरूले बालबालिका, गर्भवती महिला र मुटुका बिरामीका लागि ‘विषसमान’ घोषणा गरेका छन्, नेपालमा त्यही रेडबुल विद्यालयका साना बालबालिकादेखि युवाहरूसम्मले पानी जस्तै बगाइरहेका छन्।

नेपालमा रेडबुलले कर्पोरेट विज्ञापनमा करोडौँ रुपैयाँ लगानी गरेर ‘यो पिएपछि शक्ति आउँछ, थकान मेटिन्छ र मस्तिष्क तेज चल्छ’ जस्ता आकर्षक तर पूर्णतः भ्रमपूर्ण नारा दिँदै उपभोक्ताको स्वास्थ्यमाथि खुला खेलबाड गरिरहेको छ।

विडम्बनाको कुरा, यी विज्ञापनहरूको कुनै पनि कुना वा बट्टाको लेबलमा ‘यो पेय पदार्थले मुटुको धड्कन बढाउन सक्छ वा निश्चित औषधि खानेहरूका लागि घातक छ’ भन्ने प्रकृतिको वैधानिक चेताउनी कतै पनि उल्लेख गरिएको हुँदैन।

नेपालका स्कुल र कलेज वरपरका किराना पसल, डिपार्टमेन्टल स्टोर वा डान्स बारहरूमा रेडबुल किन्नका लागि कुनै उमेरको हदबन्दी वा परिचयपत्र तोकिएको छैन, जसले गर्दा स्कुले बालबालिकाहरू खाजाको पैसाले रेडबुल सहजै किनेर पिइरहेका छन्।

अझ खतरनाक कुरा, नेपालका जिम जाने युवाहरूमाझ व्यायाम गर्नुअघि शक्ति लिने ‘प्रि–वर्कआउट’ पेयका रूपमा र रात्रीकालीन पार्टीहरूमा रक्सीसँग मिसाएर ‘ककटेल’ बनाई पिउने आत्मघाती फेसन ह्वात्तै बढेको छ।

रक्सीले केन्द्रीय स्नायु प्रणालीलाई शिथिल बनाउँछ भने रेडबुलको क्याफिनले उत्तेजित बनाउँछ। यो दुई विपरीत प्रकृतिको सम्मिश्रणले मस्तिष्कलाई भ्रममा पार्छ र मानिसले आफ्नो शरीरको वास्तविक अवस्था थाहा नपाई अन्ततः मुटु र कलेजो फेल गराउने अवस्थामा पुग्छ।

नेपालमा रेडबुलको आयात र बिक्रीलाई लेकर समय-समयमा नीतिगत बहस नभएका होइनन्। सरकारले २०७६ सालमा जनस्वास्थ्यलाई ध्यानमा राख्दै क्याफिनयुक्त रेडबुल र सिन्थेटिक पेय पदार्थको आयातमा पूर्ण प्रतिबन्ध लगाउने कडा निर्णय गरेको थियो, तर ठूला आयातकर्ता र कर्पोरेट घरानाहरूको दबाब, लबिइङ र आर्थिक प्रभावका कारण यो नियम पूर्ण रूपमा कार्यान्वयन हुनै सकेन।

हाल नेपालमा बजारमा पाइने पेय पदार्थमा क्याफिनको मात्रा कति हुनुपर्ने भन्ने स्पष्ट र कडा कानुनी मापदण्ड छैन, जसको फाइदा उठाउँदै रेडबुलले बजार ओगटेर जनस्वास्थ्यमाथि धावा बोलिरहेको छ।

नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग बजारमा बिक्री भइरहेका inर्जी ड्रिंकमा क्याफिन र अन्य केमिकलको मात्रा नियमित परीक्षण र कडा अनुगमन गर्ने ठोस संयन्त्र वा इच्छाशक्ति नै छैन, जसका कारण नियामक निकायहरू बहुराष्ट्रिय कम्पनीका अगाडि मूकदर्शक बनेका छन्।

क्यानडाका १५ वर्षीय ज्याकरी मिरोनको मृत्यु र त्यसपछि बन्न लागेको ऐन नेपालका लागि एउटा ठूलो आँखा खोल्ने पाठ हुनुपर्छ। नेपाल सरकार, स्वास्थ्य मन्त्रालय र सरोकारवाला निकायले अब तुरुन्तै ब्युँझिएर कम्तीमा १६ वा १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई रेडबुल बिक्री वितरण गर्न कानुनी रूपमा प्रतिबन्ध लगाउनुपर्छ।

यस्ता पेय पदार्थका भ्रामक प्रचारप्रसारमा रोक लगाउनका साथै हरेक बट्टा र विज्ञापनमा ‘स्वास्थ्यका लागि हानिकारक’ र ‘बालबालिका तथा मुटुरोगीका लागि अयोग्य’ भन्ने वैधानिक चेताउनी नेपाली भाषामा स्पष्ट देखिने गरी लेखिनु अनिवार्य गरिनुपर्छ। विद्यालयका क्याफेटेरिया, खेलकुद मैदान र फिटनेस सेन्टरहरूमा रेडबुलको बिक्री पूर्ण रूपमा निषेध गरिनुपर्छ।

आकर्षक बट्टा, स्वादिलो सुगन्ध र ‘तागत’ को भ्रम फैलाएर बेचिने रेडबुल वास्तवमा ‘बोतलभित्र लुकेको मृत्यु’ बाहेक केही होइन। क्यानडाले एउटा निर्दोष बच्चा गुमाएपछि पाठ सिकेर कानुन बदल्दैछ, तर नेपालले आफ्ना कयौँ युवा र बालबालिकाको ज्यान जोखिममा राखेर कर्पोरेट दादागिरीलाई कहिलेसम्म सहिरहने? समयमै नियमन र कडा कदम नचाले, भोलि नेपालका घर-घरमा यस्ता दुःखद र अकल्पनीय घटनाहरू दोहोरिने निश्चित छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *