उद्धार गरिएका सडक आश्रित मानवमध्ये ४० प्रतिशत मात्रै परिवारसँग पुनर्मिलन

डिसी नेपाल
२९ जेठ २०८३ ६:५९

काठमाडौं। सडकबाट उद्धार गरिएका सहयोगापेक्षी मानवहरूमध्ये करिब ४० प्रतिशतलाई मात्रै परिवारसँग पुनर्मिलन गराउन सकिने अवस्था रहेको पाइएको छ।

मानव सेवा आश्रम उपत्यकाका इन्चार्ज कृष्ण पौडेलका अनुसार सडकमा आश्रित धेरैजसो व्यक्तिको परिवार भए तापनि विभिन्न बहाना, पारिवारिक समस्या वा असमझदारीका कारण उनीहरू सडकमा पुग्ने गरेका छन्।

पारिवारिक पृष्ठभूमि भएका यस्ता व्यक्तिहरू निकै कठिन कूटनीतिक र मनोवैज्ञानिक प्रयास तथा पटक-पटकको सम्झाउने प्रक्रियापछि मात्रै घर फर्कन तयार हुने र त्यो सङ्ख्या बढीमा ४० प्रतिशत मात्रै हुने गरेको छ।

सडक सहयोगापेक्षीहरूको वास्तविक अवस्था पहिचान गरी उनीहरूलाई समाजमा स्थापित गराउने उद्देश्यका साथ हाल काठमाडौँ उपत्यकामा दुईवटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ।

यसै क्रममा काठमाडौँ महानगरपालिका, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमको संयुक्त पहलमा गत वैशाख २३ गतेदेखि वडा नं. ८ तिलगङ्गामा स्थापना गरिएको सेन्टरमा पहिलो चरणमा २८ जनालाई राखेर उनीहरूको पहिचान कार्य सुरु गरिएको थियो।

उक्त केन्द्रमा ल्याइएकाहरूमध्ये ६ जना महिला र बाँकी पुरुष रहेका छन्, जसमा सोलुखुम्बु, सर्लाही, मकवानपुर, सुनसरी, मोरङ, सुर्खेत र दोलखा लगायतका विभिन्न जिल्लाका नागरिकहरू छन्।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले तिलगङ्गास्थित होल्डिङ सेन्टरको स्थलगत अनुगमन गर्दै त्यहाँको पूर्वाधार, स्वास्थ्य सुविधा र व्यवस्थापनको जानकारी लिएकी छन्। अनुगमनका क्रममा उनले काठमाडौंलाई सडक मानवमुक्त सहर बनाउने अभियानको नेतृत्व महानगरले गरिरहेको स्पष्ट पारिन्।

कार्यवाहक प्रमुख डङ्गोलले काम गर्न सक्ने व्यक्तिहरूलाई श्रम बजारमा पठाइने र साहारा नभएका असहाय तथा बेवारिसे नागरिकको मानवोचित बसोबासको पूर्ण जिम्मेवारी महानगरले लिने प्रतिबद्धता जनाइन्। उनले उद्धार गरिएका व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्दै उनीहरूको पारिवारिक अवस्था र सडकमा आउनुको कारणबारे चासो राख्नुका साथै बिरामी परेकाहरूलाई तत्काल उपचारको व्यवस्था मिलाउन निर्देशन दिइन्।

उद्धार गरिएका व्यक्तिहरूमध्ये केहीमा गम्भीर स्वास्थ्य र शारीरिक समस्या समेत देखिएको छ। आश्रमका इन्चार्ज पौडेलका अनुसार पहिलो चरणमा ल्याइएकामध्ये चार जनामा मानसिक स्वास्थ्य समस्या रहेको छ भने एक जना ज्येष्ठ नागरिक कुकुरको टोकाइबाट घाइते अवस्थामा छन्।

सेन्टरमा ह्वीलचेयर र वैशाखीको सहारामा हिँड्ने शारीरिक रूपमा अशक्त व्यक्तिहरूलाई समेत उद्धार गरी संरक्षण दिइएको छ। यो मानवीय अभियानलाई पूर्ण रूपमा सफल बनाउन व्यक्ति, परिवार र साझेदार संस्थाहरू बीच बलियो समन्वय हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *