सुनसरी प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध बरामद

डिसी नेपाल
२९ जेठ २०८३ २२:३४

इनरुवा (सुनसरी)। जिल्ला प्रहरी कार्यालय सुनसरीले चालु आर्थिक वर्षको अहिलेसम्म १७ हजार १५२.१४६ केजी गाँजा बरामद गरेको छ।

सुनसरी सदरमुकाम इनरुवामा आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरीले चालु आवको अहिलेसम्ममा सो परिणामबराबरको लागुऔषध गाँजा बरामद गरेको सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेले जानकारी दिए।

त्यसैगरी, प्रहरीले एक हजार ५६३.६९ ग्राम ब्राउनसुगर, ३२ हजार ७३ पिस ट्याब्लेट÷क्याप्सुल र १३० बोतल डाइलक्स डिसीसहित लागुऔषध बरामद भएको उनले बताए।

लागुऔषध कारोबारको अरोपमा ६०२ जना पक्राउ परेकामा ३९७ वटा मुद्दा दर्ता भइसकेका उहाँले जानकारी दिनुभयो। त्यसैगरी, ११२ वटा सवारीसाधन नियन्त्रणमा र चालु आवमा ४३६ जना फरार प्रतिवादी पक्राउ परेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाबाट २१९ वर्ष चार महिना २८ दिन कैद सजाय र रु एक करोड ३२ लाख ३७ हजार ४७० जरिवाना असुली भएको प्रहरी उपरीक्षक थेबेले बताए। पाँच वर्ष अगाडिदेखि फरार भई पाँच वर्षभन्दा बढी कैद सजाय तोकिएका छ जना प्रतिवादीलाई समेत नियन्त्रणमा लिन सफल भएको उनले बताए।

त्यसैगरी, नेपाल–भारत सीमा क्षेत्रबाट हुने अवैध भन्सार चोरी निकासी नियन्त्रणका क्रममा चालु आवको अहिलेसम्ममा रु तीन करोड चार लाख ४१ हजार २६० राजस्व सङ्कलन भएको छ।

चोरी, तस्करीको अरोपमा २१ जना र ४५ वटा सवारीसाधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधि र अवैध तस्करी नियन्त्रणका लागि प्रहरीले आफ्नो सक्रियता र निगरानीलाई अझ तीव्र बनाएको प्रहरी उपरीक्षक थेबेले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *