काकाठमाडौं महानगरको नयाँ नीति: ‘प्रदूषकले तिर्ने’ सिद्धान्तअनुसार एकद्वार प्रणालीबाट फोहोरको शुल्क उठाइने

डिसी नेपाल
३१ जेठ २०८३ १४:००

काठमाडौं। काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा फोहोरमैला व्यवस्थापनलाई थप आधुनिक, व्यवस्थित र जनउत्तरदायी बनाउन एकद्वार प्रणालीमार्फत सेवा शुल्क संकलन गर्ने नयाँ नीति अघि सारेको छ।

आइतबार आयोजित नगरसभाको १९औँ अधिवेशन बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यवाहक महानगर प्रमुख सुनिता डंगोलले ‘प्रदूषकले तिर्ने’ अन्तर्राष्ट्रिय सिद्धान्तअनुसार फोहोरमैला व्यवस्थापन सेवा शुल्क संकलनको कानुनी एवं व्यावहारिक व्यवस्था मिलाइने जानकारी दिइन्।

यस नयाँ प्रणालीले फोहोर उत्पादन गर्नेले नै त्यसको व्यवस्थापन खर्च बेहोर्नुपर्ने परिपाटीलाई संस्थागत गर्ने र शुल्क संकलन प्रक्रियालाई पारदर्शी बनाउने महानगरको विश्वास छ।

महानगरपालिकाले नुवाकोटस्थित बन्चरेडाँडा डम्पिङ साइटमा फोहोर विसर्जन गर्ने छिमेकी स्थानीय तहहरूका लागि पनि नयाँ नियमको प्रस्ताव गरेको छ। कार्यवाहक प्रमुख डंगोलका अनुसार अब बञ्चरेडाँडामा फोहोर विसर्जन गर्ने प्रत्येक स्थानीय तहबाट फोहोरको परिमाण र प्रकृतिका आधारमा द्विपक्षीय साझेदारी गर्न विशेष पहल गरिनेछ।

फोहोरको दीर्घकालीन व्यवस्थापन र पारदर्शिताका लागि महानगरले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै अनलाइन एप समेत सञ्चालनमा ल्याउने योजना बनाएको छ।

यस एपका माध्यमबाट फोहोरमैला व्यवस्थापनसम्बन्धी आवश्यक सूचना र विवरणहरू महानगरपालिका, सम्बन्धित कार्यालय, निजी सेवा प्रदायक तथा आम सेवाग्राही नागरिकको पहुँचमा हुनेछन्, जसले गर्दा सरोकारवाला निकायबीच जानकारी आदानप्रदान गर्न सहज हुने अपेक्षा गरिएको छ।

यसैगरी, महानगरपालिकाले आगामी वर्ष वातावरणीय सुधार, आधुनिक फोहोर व्यवस्थापन र प्रदूषण नियन्त्रणलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको छ। नीति तथा कार्यक्रममा उपत्यकाको वायु, जल, जमिन, ध्वनि तथा दृश्य प्रदूषण नियन्त्रणका लागि उपयुक्त र आधुनिक प्रविधिको उच्चतम प्रयोग गरिने स्पष्ट उल्लेख गरिएको छ।

वातावरण संरक्षण, सहरी सौन्दर्यीकरण तथा प्रदूषण न्यूनीकरणका यस्ता वृहत् कार्यक्रमहरूलाई प्रभावकारी बनाउन महानगरपालिकाले संघीय सरकार, प्रादेशिक सरकार, अन्य स्थानीय सरोकारवाला निकायहरू र वातावरणविद्हरूसँग आपसी समन्वय, सहकार्य तथा साझेदारीमा काम अगाडि बढाउने लक्ष्य लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *