काठमाडौं महानगरको कल्याणकारी घोषणा: घरमै स्वास्थ्य परीक्षण, ७५ वर्ष माथिकालाई पोषण भत्ता
काठमाडौं। काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सामाजिक सुरक्षा, जनस्वास्थ्य र स्थानीय विकासलाई मुख्य प्राथमिकतामा राख्दै नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
आइतबार आयोजित नगरसभाको १९औँ अधिवेशन बैठकमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यवाहक महानगर प्रमुख सुनिता डंगोलले महानगरवासी ज्येष्ठ तथा अशक्त नागरिकलाई लक्षित गरी ‘ज्येष्ठ तथा अशक्त नागरिकसँग महानगर’ नामक विशेष कार्यक्रम सञ्चालन गरिने घोषणा गरिन्।
यस लोककल्याणकारी कार्यक्रम अन्तर्गत महानगरपालिकाले आफ्ना ज्येष्ठ तथा अशक्त नागरिकहरूको सम्मान र सहजताका लागि स्वास्थ्यकर्मीहरूलाई सिधै उनीहरूको घरदैलोमै पठाएर निःशुल्क स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श सेवा प्रदान गर्ने व्यवस्था मिलाउनेछ।
सामाजिक सुरक्षाको दायरालाई थप फराकिलो बनाउँदै महानगरपालिकाले ७५ वर्ष उमेर पूरा गरेका वरिष्ठ ज्येष्ठ नागरिक तथा पूर्ण अशक्त अपाङ्गता भएका महानगरबासीहरूलाई प्रोत्साहन र राहतस्वरूप विशेष पोषण भत्ता उपलब्ध गराउने नीति समेत अघि सारेको छ।
कार्यवाहक प्रमुख डंगोलका अनुसार नागरिकहरूको बुढ्यौली र शारीरिक असमर्थताको समयमा राज्यको तर्फबाट अभिभावकत्व प्रदान गर्न यो कदम चालिएको हो।
यसका साथै, महानगरपालिकाले हाल विभिन्न वडाहरूमा कार्यान्वयनमा ल्याएको ‘एक वडा, एक नमुना कार्यक्रम’लाई थप प्रभावकारी, दिगो र नतिजामुखी बनाउने लक्ष्यसहित संस्थागत गर्ने नीति लिएको छ। प्रत्येक वडाको रैथाने आवश्यकता, माग र विशिष्ट भौगोलिक वा सांस्कृतिक विशेषता अनुसारका नमुना योजनाहरू तय गरी स्थानीय विकासलाई गति दिइने महानगरको प्रतिबद्धता छ।







डिसी नेपाल







Facebook Comment