चितवनमा घडियाल संरक्षण अभियान: ४५ वर्षमा २ हजार ३ सयभन्दा बढी गोही नदीमा छाडिए
चितवन। चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन केन्द्रले विगत ४५ वर्षको अवधिमा केन्द्रमा हुर्काएका २ हजार ३ सय १५ वटा घडियाल गोहीलाई विभिन्न नदीहरूमा छाडेको छ। केन्द्रका अनुसार सन् १९८१ यता नेपालका विभिन्न आठ वटा नदीहरूमा यी गोहीहरूलाई छाडेर प्राकृतिक बासस्थानमा फर्काउने प्रयास गरिएको हो।
यसरी छाडिएका नदीहरूमध्ये राप्ती नदीमा सबैभन्दा बढी १ हजार ५ सय ६० वटा गोही छाडिएको छ भने नारायणी नदीमा ४ सय १९, सप्तकोशीमा १ सय १५, बबहीमा १ सय १०, कर्णालीमा ४१, कालीगण्डकीमा ३५, शुक्लाफाँटाको चौधारामा २५ र बाँकेको राप्ती नदीमा १० वटा गोही छाडिएको निकुञ्ज प्रशासनले जनाएको छ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार चालु आर्थिक वर्षमा मात्रै अहिलेसम्मकै सबैभन्दा बढी २ सय २५ वटा गोही नदीमा छाडिएको छ, जसमा १४ वटा भाले र २ सय ११ वटा पोथी रहेका छन्।
यस वर्ष नदीमा छाडिएका गोहीहरू सन् २०२१ र २०२२ मा संकलन गरिएका अण्डाबाट कोरलिएका हुन्। यसरी हरेक वर्ष ठूलो सङ्ख्यामा गोहीहरू नदीमा छाड्ने गरिएको भए तापनि नदीहरूमा गोहीको संख्या भने अपेक्षाकृत रूपमा बढ्न सकेको छैन।
गत वर्ष राप्ती र नारायणी नदीमा गरिएको गणनाका क्रममा केवल ३ सय ६६ वटा मात्रै घडियाल गोही भेटिएका थिए, जसले संरक्षणको प्रभावकारितामाथि चुनौती थपेको छ।
विश्वकै सङ्कटापन्न अवस्थामा पुगेको यो सरीसृप प्राणी विगतमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, भुटान र म्यानमारलगायतका देशहरूमा पाइने गरे तापनि अहिले यो केवल नेपाल र भारतमा मात्रै सीमित हुन पुगेको छ।
सन् १९४० को दशकमा विश्वभर यसको संख्या करिब १० हजार रहेको अनुमान गरिए पनि सन् १९७० सम्म आइपुग्दा त्यसको जम्मा दुई प्रतिशत मात्रै अस्तित्वमा बाँकी रहेपछि यसको संरक्षणमा विश्वव्यापी चासो बढेको थियो।
यही संवेदनशीलतालाई बुझेर चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन केन्द्रको स्थापना गरिएको थियो, जुन समयमा नेपालभर घडियाल गोहीको सङ्ख्या एक सयभन्दा पनि कम भइसकेको थियो।
हाल यस प्रजनन केन्द्रमा ५ सय वटा गोहीहरू संरक्षित छन् भने यसै वर्ष संकलन गरिएका १ सय ९६ वटा अण्डाबाट १ सय ४६ वटा नयाँ बच्चाहरू कोरलिएका छन्।
प्रजनन केन्द्रमा गोहीको संख्या बढाउन सफलता मिले पनि नदीहरूमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थहरूको तीव्र उत्खनन, बढ्दो जल प्रदूषण र जालमा परेर मर्ने जस्ता कारणहरूले गर्दा घडियाल गोहीहरू आफ्ना प्राकृतिक बासस्थानमा अझै पनि उत्तिकै असुरक्षित रहेको सूचना अधिकारी थापामगरले चिन्ता व्यक्त गरेका छन्।







डिसी नेपाल







Facebook Comment