लुम्बिनी प्रदेशको बजेट : ३७ अर्ब ३८ करोडको आकार, प्राथमिकतामा विकास र रोजगारी

डिसी नेपाल
१ असार २०८३ १८:४३

बुटवल | लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ। प्रदेश सभामा सोमबार आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले उक्त बजेट प्रस्तुत गरेका हुन्।

सरकारले चालु आर्थिक वर्षको तुलनामा बजेटको आकारलाई केही साँघुरो बनाएको छ। गत आर्थिक वर्ष २०८२/०८३ मा ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले यसपटक करिब १ अर्ब ५२ करोड ५५ लाख रुपैयाँ कम बजेट विनियोजन गरेको हो।

प्रस्तुत बजेटमध्ये पुँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ, जसले प्रदेशको भौतिक पूर्वाधार निर्माणलाई गति दिने अपेक्षा गरिएको छ। त्यस्तै, चालु खर्चका लागि ११ अर्ब ११ करोड २७ लाख १० हजार रुपैयाँ छुट्याइएको छ। वित्तीय व्यवस्थातर्फको रकमसमेत समावेश गरी कुल बजेटको आकार ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ कायम गरिएको हो।

बजेट प्रस्तुत गर्दै मन्त्री कार्कीले प्रदेशको समग्र विकासका लागि पूर्वाधार निर्माण, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिए। साथै, प्रदेशमा रोजगारीका अवसर सिर्जना गर्दै आर्थिक उत्पादन अभिवृद्धि गर्ने सरकारी योजना रहेको उनको भनाइ छ।

सीमित स्रोत र साधनका बाबजुद नागरिकको जीवनस्तर उकास्ने र विकासका अधुरा कामलाई पूर्णता दिने लक्ष्यसहित प्रदेश सरकारले नयाँ बजेट सार्वजनिक गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *