राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभाग (डीओपी) का महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ। राहदानी (पासपोर्ट) आपूर्ति तथा खरिद प्रक्रियामा भएको भनिएको अनियमितताको विषयमा अनुसन्धानका लागि आयोगले उनलाई त्रिपुरेश्वरस्थित विभागबाट नियन्त्रणमा लिएर बयान तथा सोधपुछ सुरु गरेको हो।
अख्तियार सम्बद्ध स्रोतका अनुसार यस प्रकरणमा सोमबार साँझ नै आयोगको टोलीले राहदानी विभाग पुगेर महत्त्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको थियो। विशेष कुरा त महानिर्देशक अर्याल सोमबार मात्रै प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री कार्यालय बालुवाटार पुगेका थिए, जहाँबाट फर्किएलगत्तै उनीमाथि अख्तियारले निगरानी बढाएको थियो।
यस राहदानी छपाइ तथा खरिद प्रकरणमा अख्तियारले महानिर्देशक अर्यालका साथै प्रिन्टिङ कम्पनी ‘भेरिडियस’ का सञ्चालक एवं व्यवसायी सिद्धार्थ थापालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। पक्राउ परेका थापा नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद सुनिल थापाका छोरा हुन्।
हाल राहदानी विभागमा पुरानो कम्पनीसँगको छपाइ सम्झौता अवधि सकिएपछि दुईवटा जर्मन कम्पनीहरू ‘मुलबाउर’ र ‘भेरिडोस’ ले राहदानी छपाइको नयाँ ठेक्का पाएका छन्। सोही नयाँ टेन्डर र खरिद प्रक्रियामा ठूलो आर्थिक चलखेल र अनियमितता भएको उजुरी परेपछि अख्तियारले आफ्नो अनुसन्धानलाई तीव्र बनाएको हो।
अख्तियारको यो कारबाही महानिर्देशक अर्याल र व्यवसायी थापामा मात्र सीमित छैन। यस भ्रष्टाचार प्रकृतिको कसुरमा विभागका अन्य उच्च कर्मचारीहरू पनि तानिएका छन्। स्रोतका अनुसार विभागको प्रशासन तथा व्यवस्थापन शाखाका प्रमुख एवं प्रवक्ता सोमेश थापा र सूचना प्रविधि (आईटी) शाखाका निर्देशक सुनिल कुमार केसीलाई समेत अख्तियारले नियन्त्रणमा लिएको छ।
राहदानी जस्तो संवेदनशील र राष्ट्रिय महत्त्वको कागजात खरिदमा विभागका उच्च नेतृत्व र व्यवसायीको मिलेमतोबारे अख्तियारले विशेष टोली गठन गरी विस्तृत रूपमा बयान लिने काम गरिरहेको छ।







डिसी नेपाल







Facebook Comment