अन्नपूर्ण आधार शिविर पदमार्गमा राष्ट्रिय प्रसारणको बिजुली पुग्यो, पर्यटक आगमनमा ऐतिहासिक रेकर्ड

डिसी नेपाल
३ असार २०८३ ७:२८

कास्की। विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अबको यात्रा अझ सहज र सुविधायुक्त हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ११ झिनुडाँडादेखि माथिल्लो सिनुवासम्म राष्ट्रिय प्रसारण लाइन विस्तार गरेसँगै यस क्षेत्र उज्यालो बनेको हो।

कास्कीका प्रमुख पदमार्गहरूमा विद्युतीकरण गर्ने सरकारी योजनाअनुसार राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्‍याइएपछि वर्षौँदेखि माइक्रो हाइड्रो र वैकल्पिक ऊर्जामा निर्भर स्थानीय बासिन्दा, होटल व्यवसायी र पर्यटकले भरपर्दो विद्युत् सेवा पाउने भएका छन्।

झिनुडाँडादेखि माथिल्लो सिनुवासम्म साना-ठूला गरी ६० देखि ७० वटा होटल सञ्चालनमा आइसकेका छन्, जहाँ राष्ट्रिय प्रसारण लाइन पुगेपछि चौबिसै घण्टा विद्युत् सुविधा उपलब्ध गराउन सकिने भएकाले सेवाको गुणस्तरमा उल्लेखनीय सुधार आउने व्यवसायीहरूको भनाइ छ।

नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रका अनुसार घान्द्रुक बसपार्कदेखि माथिल्लो क्षेत्रमा हेलिकप्टरमार्फत पोल र ट्रान्सफर्मर ढुवानी गरेर दुर्गम हिमाली भूगोलको चुनौतीका बीच यो आयोजना सम्पन्न गरिएको हो।

बीएनआर महालक्ष्मी जेभी, धनकुटाले २ करोड २१ लाख रुपैयाँको लागतमा सम्पन्न गरेको यस आयोजनापछि पदयात्रीहरूलाई मोबाइल चार्जिङ, तातोपानी र इन्टरनेट चलाउन थप सहज हुनेछ भने आगामी आर्थिक वर्षभित्रमा यो लाइन हिमालयसम्म विस्तार गर्ने प्राधिकरणको योजना छ।

विद्युतीकरणको यो खुसीयालीका बीच अन्नपूर्ण संरक्षण क्षेत्रमा यस वर्ष विदेशी पर्यटकको आगमनले अहिलेसम्मकै नयाँ रेकर्ड कायम गरेको छ। चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा मात्रै ४ लाख ४१ हजार ४२२ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका छन्, जुन गत आर्थिक वर्षको कुल २ लाख ७८ हजार ११३ को तुलनामा निकै बढी हो। चालु आर्थिक वर्ष सकिन अझै एक महिना बाँकी रहेकाले यो सङ्ख्या अझै बढ्ने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ।

यस वर्ष विशेष गरी भारतसहित दक्षिण एसियाली देशका पर्यटकको सङ्ख्यामा झन्डै ३०० प्रतिशतले वृद्धि भएको छ, जसमा जेठ महिनासम्म भित्रिएका पर्यटकमध्ये ३ लाख १९ हजार ४१९ दक्षिण एसियाली मुलुकका र १ लाख २१ हजार ९९३ अन्य मुलुकका रहेका छन्।

पोखरा र मुक्तिनाथ क्षेत्रको प्रचारप्रसार, यातायातको सहजता र गर्मी छल्ने अनुकूल गन्तव्यका रूपमा भारतीय पर्यटकहरूको रोजाइमा अन्नपूर्ण क्षेत्र परेको हो। यसै कारण वैशाख र जेठ महिनामा पोखराका होटलहरूको ‘अकुपेन्सी’ ९० प्रतिशतसम्म पुगेको होटल सङ्घ पोखराले जनाएको छ।

प्राकृतिक सौन्दर्य, जैविक विविधता र हिमाली जनजीवनका लागि प्रसिद्ध ७ हजार ६०० वर्गकिलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा पूर्वाधारको विकास र पर्यटन आगमनमा भएको यो वृद्धिले स्थानीय आर्थिक गतिविधिमा नयाँ ऊर्जा थपेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *