राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६ देखि २८ सम्म काठमाडौंमा हुने

डिसी नेपाल
६ असार २०८३ १७:४१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो केन्द्रीय महाधिवेशनको मिति तय गरेको छ। शुक्रबार र शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले आगामी मंसिर २६, २७ र २८ गते केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो।

महाधिवेशनलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा एक विशाल ‘महाधिवेशन मूल आयोजक समिति’ गठन गरिएको छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार उक्त समितिमा पार्टीका पदाधिकारी, केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरू, केन्द्रीय सदस्यहरू, सल्लाहकार समितिका अध्यक्ष तथा सदस्यहरू, विभिन्न विभागका प्रमुखहरू, प्रदेश अध्यक्षहरू, जिल्ला अध्यक्षहरू, सङ्घीय तथा प्रदेश सांसदहरूका साथै सबै भातृ संगठनका अध्यक्षहरू रहनेछन्।

महाधिवेशनको पूर्वतयारीस्वरूप पार्टीले सांगठनिक अधिवेशनको स्पष्ट कार्यतालिका पनि सार्वजनिक गरेको छ। जसअनुसार भदौ मसान्तभित्र सबै जिल्ला अधिवेशनहरू सम्पन्न गरिसक्नुपर्नेछ। तोकिएको समयावधिभित्र अधिवेशन सम्पन्न गर्ने जिल्लाहरू मात्र केन्द्रीय महाधिवेशनमा भाग लिन योग्य हुने पार्टीले स्पष्ट पारेको छ। जिल्ला अधिवेशनपश्चात् असोज १५ देखि २४ गतेसम्म सातवटै प्रदेशमा प्रदेश अधिवेशन सम्पन्न गरिनेछ।

त्यस्तै, महाधिवेशन प्रतिनिधि छनोटका लागि पनि समयसीमा निर्धारण गरिएको छ। कात्तिक ११ देखि ३० गतेभित्र प्रदेशसभा क्षेत्रीय निर्वाचन समितिहरूले पार्टीको विधानबमोजिम सक्रिय सदस्यहरूमध्येबाट महाधिवेशन प्रतिनिधि चयन गरी मंसिर ७ गतेभित्र केन्द्रमा पठाइसक्नुपर्नेछ। प्रतिनिधि चयन गर्दा युवा प्रतिनिधित्वलाई विशेष सुनिश्चित गर्नुपर्ने प्रावधान पनि राखिएको छ।

सक्रिय सदस्यता वितरण कार्यलाई भदौ मसान्तसम्म अभियानकै रूपमा अघि बढाउने निर्णय गरेको राप्रपाले सोही मितिसम्म सदस्यता प्राप्त गर्नेहरूलाई मात्र महाधिवेशनको मतदाता र उम्मेदवार बन्न पाउने अधिकार सुनिश्चित गरेको छ। केन्द्रीय समिति बैठकले सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठनिक तहको निर्वाचन नियमावली र पार्टीको निर्वाचन निर्देशिकासमेत पारित गर्दै सांगठनिक सुदृढीकरणमा जोड दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *