रास्वपाको निर्वाचन कार्यतालिका सार्वजनिक, १९ सदस्यीय पदाधिकारीसहितको नयाँ संरचना तय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो ऐतिहासिक महाधिवेशनको सम्पूर्ण तयारी पूरा गरेको छ। तीन दिनसम्म चल्ने महाधिवेशनका लागि पार्टीको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै मतदानको प्रक्रिया र नयाँ सांगठनिक संरचनाको खाका स्पष्ट पारेको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार, आगामी असार २२ गते (मंगलबार) बिहान ८:३० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ। मतदान सकिएको दुई घण्टाभित्रै मतगणना कार्य सुरु हुनेछ।
महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ। रास्वपाका नेता गणेश पराजुलीले जानकारी दिएअनुसार, पार्टीको नयाँ विधानअनुसार अब १९ सदस्यीय पदाधिकारी रहनेछन्। जसमा सभापति, वरिष्ठ नेता, तीन उपसभापति (जसमा एक महिला अनिवार्य), दुई महामन्त्री, पाँच सहमहामन्त्री (जसमा एक महिला अनिवार्य), एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, एक प्रवक्ता र तीन सहप्रवक्ता रहनेछन्।
रास्वपाको नयाँ केन्द्रीय समिति १५८ सदस्यीय हुनेछ। यसमा ९९ जना सदस्यहरू निर्वाचनबाट चुनिएर आउनेछन् भने ५१ जना सभापतिबाट मनोनीत हुनेछन्। बाँकी सात सदस्यमा सातवटै प्रदेशका सभापतिहरू पदेन सदस्यका रूपमा रहनेछन्।
त्यस्तै, पार्टीको सचिवालयमा सभापति, तीन उपसभापति, दुई महामन्त्री, पाँच सहमहामन्त्री, एक कोषाध्यक्ष र प्रवक्ता स्वतः सदस्य रहनेछन्। बाँकी सचिवालय सदस्यहरू सभापतिले नै मनोनीत गर्ने गरी विधानमा व्यवस्था गरिएको छ।
भोलिबाट सुरु हुने रास्वपाको पहिलो महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी राजनीतिक दिशा र सांगठनिक सुदृढीकरणका लागि महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ।








डिसी नेपाल







Facebook Comment