रास्वपा महाधिवेशनमा उपेन्द्रको आग्रह- विकृति अन्त्य गरी नयाँ युगको थालनी गरौँ
चितवन, ७ असार :
जसपा नेपालका अध्यक्ष यादव-मन्तव्य
चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव। तस्बिर : प्रदीपराज वन्त/रासस
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनले मुलुकलाई नयाँ दिशा दिने ऐतिहासिक अवसर सिर्जना गरेको बताएका छन्।
रास्वपाको प्रथम महाधिवेशनलाई शुभकामना सन्देश दिँदै यादवले देशमा विद्यमान विकृति र विसंगतिको अन्त्य गर्दै नयाँ सुरुवात र नयाँ दिशातर्फ अघि बढ्न रास्वपालाई सफलताको शुभकामना व्यक्त गरे।
‘यो महाधिवेशनले ऐतिहासिक निर्णय गर्नेछ। मुलुकमा रहेका विकृति र विसंगतिलाई अन्त्य गरेर नयाँ सुरुवात र नयाँ दिशामा देशलाई लैजान सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु,’ उनले भने।
यादवले रोजगारीको अभावका कारण लाखौं नेपाली युवा विदेशिन बाध्य भइरहेको उल्लेख गर्दै अब आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। त्यसका लागि सुशासन र सामाजिक न्यायलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।
‘मुलुक अब विगतका विकृति र विसंगतिलाई त्यागेर नयाँ दिशातर्फ अघि बढ्ने अवसरमा पुगेको छ। यो महाधिवेशन नयाँ युगको थालनीका लागि महत्वपूर्ण सावित हुनेछ,’ उनले बताए।
अध्यक्ष यादवले संविधान संशोधनको विषयमा पनि ध्यान दिन रास्वपालाई आग्रह गरे। उनले वर्तमान संविधानमा संघीयता, गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षताजस्ता महत्वपूर्ण उपलब्धि समेटिए पनि केही विषय अझै अधुरा र अपूर्ण रहेको धारणा राखे।
‘संविधानमा रहेका विरोधाभास, त्रुटि र अपूर्णतालाई संशोधनमार्फत सुधार गर्न आवश्यक छ। संविधानलाई समयानुकूल परिमार्जन गर्दै थप प्रभावकारी बनाउने जिम्मेवारी राजनीतिक दलहरूको काँधमा आएको छ,’ उनले भने।
चितवनमा सुरु भएको रास्वपाको प्रथम महाधिवेशनमा विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना मन्तव्य राख्ने क्रम जारी छ।







डिसी नेपाल







Facebook Comment