संविधान संशोधनको ऐतिहासिक जिम्मेवारी रास्वपाको काँधमा छ : अध्यक्ष यादव
चितवन, ७ असार :
जसपा नेपालका अध्यक्ष यादव-मन्तव्य
चितवनमा आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव। तस्बिर : प्रदीपराज वन्त/रासस
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई विगतका विकृति र विसंगतिबाट मुक्त गर्दै नयाँ दिशातर्फ लैजाने अवसर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्राप्त भएको बताएका छन्।
आइतबार चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले रास्वपाको महाधिवेशनले नेपाली राजनीतिमा नयाँ युगको थालनी गर्न सक्ने विश्वास व्यक्त गरे।
उनले भने, ‘अब मुलुकलाई विगतका विकृति–विसंगतिलाई त्यहीँ छाडेर नयाँ दिशामा लैजाने अवसर रास्वपालाई प्राप्त भएको छ। यो महाधिवेशन नयाँ युगको थालनीको महत्वपूर्ण आधार बन्न सक्छ भन्ने मलाई लागेको छ।’
अध्यक्ष यादवले संविधानसभामार्फत जारी भएको वर्तमान संविधानमा महत्वपूर्ण उपलब्धिहरू समेटिए पनि अझै अधुरो, अपूर्ण र त्रुटिपूर्ण पक्षहरू रहेको टिप्पणी गरे।
उनका अनुसार संविधानभित्र नै केही विरोधाभासहरू रहेका छन्, जसलाई समयानुकूल सुधार गर्न आवश्यक छ।
उनले संघीयता, गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षता संविधानका महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै ती व्यवस्थाहरूको संरक्षण र सुदृढीकरण आवश्यक रहेको बताए। तर संविधानका कतिपय प्रावधानहरू अझै अमूर्त र अपूर्ण रहेको उनको भनाइ थियो।
यादवले वर्तमान समयको आवश्यकता संविधान परिमार्जन र संशोधन रहेको उल्लेख गर्दै त्यसका लागि राजनीतिक दलहरूले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने बताए।
उनले भने,‘मुलुकमा विगतमा संविधासभाबाट संविधानको घोषणा गरियो। त्यो संविधान त्रुटिपूर्ण, अधुरो र अपुरो छ। आफैभित्र विरोधाआवास छ। तर यसमा केही महत्वपूर्ण आयामहरु पनि छन्। संघीयता, गणतन्त्र, समावेशीता धर्मनिरपेक्षताजस्ता महत्वपूर्ण पक्ष भएपनि धेरै कुरा अमूर्त र अपूर्ण छन्। आजको आवश्यकता संविधानलाई परिमार्जन र संसोधन गर्नुपर्ने महत्वपूर्ण ऐतिहासिक जिम्मेवारी यहाँहरुको काँधमा छ।’
उनले लोकतन्त्रलाई थप सुदृढ, समावेशी र जनमुखी बनाउन संविधानका अपूर्ण पक्षहरूलाई सम्बोधन गर्दै मुलुकलाई स्थायित्व र समृद्धिको दिशामा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।







डिसी नेपाल







Facebook Comment