जङ्गबहादुरको योगदानलाई वस्तुगत रूपमा मूल्याङ्कन गर्नुपर्छ : विद्या भण्डारी

डिसी नेपाल
७ असार २०८३ १६:५७

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका ऐतिहासिक व्यक्तित्वहरूको मूल्याङ्कन वस्तुगत र सन्तुलित ढंगले गर्नुपर्ने बताएकी छन्।

श्री ३ महाराज जङ्गबहादुर राणाको २०९औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘नेपाली राष्ट्रियता र जङ्गबहादुर’ विषयक प्रवचन कार्यक्रममा बोल्दै भण्डारीले इतिहास कुनै व्यक्तिको प्रशंसा वा आलोचनाको विषय नभई समय, परिस्थिति, उपलब्धि र तिनका प्रभावहरूको समग्र मूल्याङ्कन भएको बताइन्।

उनले भनिन्, ‘इतिहास कुनै व्यक्तिको प्रशंसा वा आलोचनाको विषय होइन, बरु समय, परिस्थिति, उपलब्धि र तिनका प्रभावहरूको समग्र मूल्याङ्कन हो। त्यसैले, जङ्गबहादुर राणाको ऐतिहासिक भूमिका र योगदानलाई पनि हामीले वस्तुगत तथा सन्तुलित दृष्टिकोणबाट हेर्नुपर्दछ।’

उनले नेपालको राजनीतिक अस्थिरता, षड्यन्त्र र शक्ति सङ्घर्षले ग्रस्त अवस्थामा जङ्गबहादुरको उदय भएको उल्लेख गर्दै उनले राज्य सञ्चालनलाई संस्थागत र व्यवस्थित बनाउन महत्त्वपूर्ण भूमिका खेलेको धारणा राखिन्। वि.सं. १९१० मा जारी गरिएको मुलुकी ऐनलाई नेपालको पहिलो कानुनी संहिताका रूपमा लिन सकिने उनको भनाइ थियो।

उनले भनिन्, ‘राज्य सञ्चालनलाई निश्चित नियम, प्रक्रिया र संस्थागत आधारमा अघि बढाउने प्रयत्नस्वरूप वि.सं. १९१० मा उहाँद्वारा जारी मुलुकी ऐनलाई नेपालको पहिलो कानुनी संहिताको रूपमा लिन सकिन्छ। यद्यपि, त्यस ऐनमा तत्कालीन समाजको जातीय संरचना र सामाजिक असमानताका केही पक्षहरू प्रतिविम्बित थिए, जुन आजको मूल्य, मान्यताका दृष्टिले स्वीकार्य मानिँदैन। तथापि, इतिहासको मूल्याङ्कन गर्दा त्यस समयको सामाजिक संरचना, राज्य व्यवस्था र चेतना स्तरलाई समेत सँगसँगै बुझ्नु आवश्यक हुन्छ।’

भण्डारीले जङ्गबहादुरका सामाजिक सुधारसम्बन्धी प्रयासहरूको पनि चर्चा गर्दै सती प्रथालाई निरुत्साहित गर्ने पहल उल्लेखनीय रहेको बताइन्। यद्यपि, तत्कालीन समाजको संरचना र चेतनास्तरलाई ध्यानमा राखेर इतिहासको मूल्याङ्कन गर्नुपर्नेमा उनले जोड दिइन्।

उनले १९औँ शताब्दीको औपनिवेशिक विस्तारको समयमा नेपालले आफ्नो सार्वभौम अस्तित्व जोगाउन सफल हुनुमा जङ्गबहादुरको नेतृत्व महत्त्वपूर्ण रहेको बताइन्। बेलायत भ्रमणपछि उनले अपनाएको कूटनीतिक व्यवहारले नेपाल र ब्रिटिश साम्राज्यबीचको सम्बन्धलाई व्यवस्थित बनाउन सहयोग पुगेको उनको भनाइ थियो। साथै, नेपाल–ब्रिटिश भारत सीमाना व्यवस्थापनका क्रममा निर्माण गरिएका जङ्गे पिलरहरूले सीमाको स्पष्टता र प्रशासनिक स्थिरतामा योगदान पुर्याएको उनले उल्लेख गरिन्।

उनले वर्तमान नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मार्गमा अघि बढिरहेको उल्लेख गर्दै राष्ट्रियताको संरक्षणसँगै लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, समावेशिता, आर्थिक आत्मनिर्भरता र नागरिक अधिकारको प्रवद्र्धनलाई सँगसँगै अगाडि बढाउनुपर्ने धारणा राखिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *