पूर्वमन्त्री एवं कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
काभ्रेपलाञ्चोक। नेपाली कांग्रेसका आदर्शवादी एवं वरिष्ठ नेता तथा पूर्वमन्त्री राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ।
पछिल्लो समय श्वासप्रश्वास (दम) को समस्या बढेपछि काठमाडौंको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत खरेलको आइतबार राति पौने १० बजे उपचारकै क्रममा निधन भएको हो। पिता सुब्बा देवीप्रसाद र माता मुकुन्दकुमारी खरेलको माइलो सन्तानको रूपमा वि.सं. २००३ सालमा काभ्रेको खरेलथोकमा जन्मिएका खरेल नेपाली राजनीतिमा एक निष्कलंक र त्यागी नेताका रूपमा स्थापित थिए।
वि.सं. २०२५/०२६ सालतिर तत्कालीन नेशनल कलेज (हालको शंकरदेव कलेज) मा नेपाल विद्यार्थी संघको एकाइ गठन गरी सचिवको जिम्मेवारी सम्हालेर उनी राजनीतिमा होमिएका थिए।
त्यसयता उनले वि.सं. २०३६ को जनमत सङ्ग्रह, २०४२ को सत्याग्रह, २०४६ को ऐतिहासिक जनआन्दोलन र २०६२/०६३ को दोस्रो जनआन्दोलनमा नेतृत्वदायी र सक्रिय भूमिका खेलेका थिए। राजनीतिक जीवनका क्रममा लोकतन्त्र स्थापना र संवर्द्धनका लागि उहाँले पटक-पटक गरी झण्डै ९ वर्ष लामो कठोर जेल जीवन बिताएका थिए।
नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वसँग अत्यन्तै निकट रहेर काम गर्नुभएका खरेल जननायक बिपी कोइराला, सन्त नेता कृष्णप्रसाद भट्टराई र सर्वोच्च कमाण्डर गणेशमान सिंहलाई आफ्ना राजनीतिक आदर्श मान्थे।
वि.सं. २०५६ को आम निर्वाचनमा काभ्रेपलाञ्चोकबाट प्रतिनिधि सभा सदस्य (सांसद) निर्वाचित भएपछि उनले शिक्षा राज्यमन्त्री र पछि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी कुशलतापूर्वक सम्हालेका थिए। उनी शिक्षा राज्यमन्त्री रहेकै कार्यकालमा देशमा ऐतिहासिक ‘प्राथमिक शिक्षा परियोजना’ लागू भएको थियो।
सोही परियोजनामार्फत भौतिक पूर्वाधारको अभाव झेलिरहेका देशभरका कैयौँ विद्यालयहरूको भवन निर्माण हुनुका साथै प्राथमिक तहको शिक्षालाई सर्वसुलभ र स्तरोन्नति गर्न उनले अविस्मरणीय योगदान पुर्याएका थिए।
उनकै पालामा देशभर झण्डै १ हजार ३०० भन्दा बढी शिक्षक दरबन्दी वितरण गरिएको थियो। पार्टीप्रति अगाध निष्ठा रहेका खरेलले तत्कालीन समयमा कांग्रेसको आफ्नै कार्यालय नहुँदा लामो समयसम्म आफ्नै निजी निवासबाट पार्टीका गतिविधि सञ्चालन गर्न दिएका थिए। राजनीतिक नैतिकतालाई शिरोपर गर्ने उनले मन्त्री पदमा बहाल रहेकै बेला संसद विघटन भएपछि पदबाट राजीनामा दिएर उच्च राजनीतिक संस्कार प्रदर्शन गरेका थिए।
खरेलको निधनले नेपाली कांग्रेस र समग्र लोकतान्त्रिक आन्दोलनलाई अपूरणीय क्षति पुगेको भन्दै पार्टीका शीर्ष नेता, कार्यकर्ता, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले गहिरो दुःख र शोक व्यक्त गरेका छन्।
काभ्रेको पाँचखाल नगरपालिकाका नगरप्रमुख एवं नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. २ का सभापति महेश खरेल स्व. खरेलका छोरा हुन्। पारिवारिक स्रोतका अनुसार स्वर्गीय खरेलको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज बिहान ९ बजेदेखि ११ बजेसम्म ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा राखिनेछ। त्यसपछि दिउँसो १ बजे पशुपति आर्यघाटमा उहाँको दाहसंस्कार गरिने कार्यक्रम तय भएको छ।







डिसी नेपाल







Facebook Comment