निर्जला एकादशी र तुलसीको महिमा: धार्मिक आस्था, विज्ञान र आयुर्वेदको त्रिवेणी

विदुर लोचन न्यौपाने
११ असार २०८३ ७:३८

सनातन हिन्दू धर्म संस्कृतिमा वर्षभरि मनाइने विभिन्न चाडपर्व, तिथि र व्रतहरूमध्ये एकादशीको स्थान विशिष्ट र उच्च मानिन्छ। त्यसमा पनि ज्येष्ठ शुक्ल पक्षमा पर्ने ‘निर्जला एकादशी’ लाई सबैभन्दा बढी पुण्यदायी र फलदायी व्रतका रूपमा लिइन्छ। भगवान् श्रीहरि विष्णुप्रति समर्पित यो पावन व्रत केवल धार्मिक आस्थाको विषय मात्र नभएर मानव जीवनमा आत्मसंयम, मानसिक अनुशासन, स्वास्थ्य रक्षा र प्रकृतिपरक जीवनशैलीसँग समेत गहिरो गरी जोडिएको छ।

व्रतका प्रकार र निर्जलाको सर्वश्रेष्ठता

ज्योतिष तथा पण्डित विदुर लोचन न्यौपानेका अनुसार निर्जला एकादशीको मुख्य विशेषता नै नामै बित्तिकै पानीसमेत सेवन नगरी पूर्ण निष्ठाका साथ भगवान् विष्णुको आराधना गर्दै उपवास बस्नु हो। शास्त्रीय मान्यताअनुसार व्रत मुख्यतया तीन प्रकारका हुन्छन्: जलाहार, फलाहार र निर्जला

जलाहार व्रतमा पानी मात्र सेवन गरिन्छ भने फलाहारमा फलफूल तथा कन्दमूल जस्ता हल्का सात्विक आहार ग्रहण गरिन्छ। अर्कोतर्फ, निर्जला व्रतमा भने अन्न र फल मात्र होइन, जलको एक थोपासमेत ग्रहण नगरी कठोर उपवास बस्ने विधान छ। शास्त्रीय दृष्टिकोणबाट निर्जला व्रतलाई सबैभन्दा उत्कृष्ट मानिएको छ।

शास्त्रमा निर्जला व्रतले पूर्ण फल दिने, जलाहारले आधा फल दिने र फलाहार वा अन्य आहार ग्रहण गरेर बस्ने व्रतले अझ कम फल दिने उल्लेख छ। निर्जला एकादशीको मूल सन्देश नै आत्मसंयम र इन्द्रियमाथिको नियन्त्रण हो। व्रतको वास्तविक उद्देश्य केवल भोकै-प्यासै बस्नु मात्र नभई मन, वचन र कर्मलाई पूर्ण रूपमा शुद्ध राख्नु पनि हो।

मानिसले जीवनभर भौतिक आवश्यकताका लागि दौडधुप गरिरहेको हुन्छ, यस्तो अवस्थामा एकादशीको व्रतले शरीरलाई विश्राम दिनुका साथै मानव मनलाई आध्यात्मिक मार्गतर्फ उन्मुख गराउँछ।

पौराणिक काल वा सत्ययुगमा यो व्रत व्यापक र कडा रूपमा पालन गरिन्थ्यो। तर, समय परिवर्तनसँगै आधुनिक मानिसको जीवनशैली, कार्यव्यस्तता र शारीरिक अवस्थाका कारण सबैले पूर्ण निर्जला व्रत बस्न सक्ने अवस्था नहुन सक्छ। यद्यपि, आफ्नो शारीरिक क्षमताले भ्याएसम्म यस व्रतको नियम पालना गर्दा मात्र पनि विशेष शुभ फल प्राप्त हुने धार्मिक विश्वास छ।

उपवासको महत्त्व: धर्मदेखि विज्ञानसम्म

धार्मिक एवं आध्यात्मिक महत्त्वका अतिरिक्त उपवास बस्नुको बलियो वैज्ञानिक पक्ष पनि छ। आधुनिक चिकित्सा विज्ञान (Modern Medical Science) ले समेत समय-समयमा उपवास (Fastings) बस्नु शरीरका लागि निकै लाभदायक हुने पुष्टि गरिसकेको छ।

हप्तामा एक दिन वा निश्चित अवधिमा उपवास बस्दा मानव शरीरका आन्तरिक अंग र पाचन प्रणाली (Digestive System) ले विश्राम पाउँछन्। यसले शरीरभित्रको विषाक्त तत्त्व बाहिर निकाल्ने ‘डिटक्सिफिकेसन’ वा शुद्धीकरण प्रक्रियालाई तीव्र र सक्रिय बनाउँछ। यद्यपि, स्वास्थ्य अवस्था कमजोर भएका व्यक्तिहरू, वृद्धवृद्धा, बालबालिका, गर्भवती महिला वा दीर्घरोगीहरूले भने आफ्नो स्वास्थ्य अनुकूलता हेरेर मात्र व्रतको निर्णय लिनु बुद्धिमानी हुन्छ।

पौराणिक पृष्ठभूमि

हिन्दू धर्मग्रन्थहरूमा एकादशी तिथिको उत्पत्तिबारे रोचक पौराणिक कथा छ। सत्ययुगमा भगवान् विष्णु र एक अत्यन्तै शक्तिशाली दैत्यबीच लामो समयसम्म महायुद्ध भएको थियो। सोही युद्धका क्रममा भगवान् विष्णु थकित भई विश्राम गरिरहेका बेला उहाँको शरीरबाट एक दिव्य देवी शक्तिको उत्पत्ति भयो।

तिनै देवीले सो अत्याचारी दैत्यको वध गरेर देवताहरूको रक्षा गरेकी थीन्। भगवान् विष्णुले प्रसन्न भई ती देवीको नाम ‘एकादशी’ राखिदिनुभयो र यस तिथिमा आफ्नो पूजा गर्नेलाई मोक्ष मिल्ने वरदान दिनुभयो। त्यसै समयदेखि एकादशीलाई श्रीहरिको प्रिय दिनका रूपमा पूजा–आराधना गर्ने परम्परा सुरु भएको हो।

व्रतका शास्त्रीय विधिहरू

एकादशीको दिन ब्रह्ममुहूर्त (सूर्योदयभन्दा करिब दुई घण्टा अगाडि) मा उठ्नु अत्यन्तै शुभ मानिन्छ। बिहानै उठेर पवित्र नदी, तलाउ वा सरोवरमा स्नान गरी शुद्ध वस्त्र धारण गर्ने र भगवान् विष्णुको ध्यान गर्ने परम्परा छ।

वर्तमान अवस्थामा नदी वा कुण्डहरूमा पुग्न सम्भव नभएमा घरमै पवित्र जलले स्नान गरेर पनि यो धार्मिक विधि सम्पन्न गर्न सकिन्छ। मूल कुरा श्रद्धा र निश्चल भक्ति हो। जहाँ भए पनि भगवान् विष्णु, माता लक्ष्मी र तुलसीको विशेष आराधना गर्दै पञ्चामृत, अक्षता, पहेंलो फूल, धूप, दीप तथा नैवेद्य अर्पण गरी पूजा सम्पन्न गरिन्छ। पूजाका क्रममा गायत्री मन्त्र वा ‘ॐ नमो भगवते वासुदेवाय’ मन्त्रको जप गर्नु फलदायी मानिन्छ।

तुलसी: धर्म, विज्ञान र आयुर्वेदको संगम

एकादशीको आध्यात्मिक चर्चा तुलसीको संस्मरणबिना सधैँ अधुरो रहन्छ। हिन्दू धर्ममा तुलसीलाई केवल एउटा वनस्पतिका रूपमा मात्र नभई देवी लक्ष्मीको साक्षात् स्वरूप मानेर पूजा गरिन्छ। तुलसी भगवान् विष्णुलाई अत्यधिक प्रिय छ, त्यसैले तुलसी दलबिना भगवानलाई चढाइएको कुनै पनि प्रसाद वा नैवेद्य पूर्ण मानिँदैन।

वैज्ञानिक दृष्टिले पनि तुलसी एउटा अद्भुत वनस्पति हो। यसले चौबीसै घण्टा अक्सिजन उत्सर्जन गर्ने र वरपरको वातावरणलाई शुद्ध एवं ब्याक्टेरियामुक्त बनाउने काम गर्छ। आयुर्वेदमा त तुलसीलाई ‘महाऔषधि’ वा ‘एन्टिबायोटिक’ का रूपमा व्याख्या गरिएको छ। रुघाखोकी, ज्वरो, श्वासप्रश्वाससम्बन्धी समस्या, पाचन विकार हटाउन तथा शरीरको रोग प्रतिरोधात्मक क्षमता सुदृढ बनाउन तुलसीको नियमित सेवन उपयोगी मानिन्छ।

घरमा तुलसीको स्थान र दल राख्ने परम्परा

सनातन परम्परामा घरको मूल आँगनमा तुलसीको मठ निर्माण गर्ने चलन छ। जुन घरको आँगनमा हरियो तुलसीको बोट हुन्छ, त्यहाँ नकारात्मक ऊर्जा (Negative Energy) नष्ट भई सुख, शान्ति र समृद्धि छाउने वास्तुशास्त्रको मान्यता छ। वास्तुअनुसार घरको ईशान कोण (उत्तर-पूर्व) मा तुलसी रोप्नु सबैभन्दा उत्तम मानिन्छ।

निर्जला एकादशीको अर्को महत्त्वपूर्ण पक्ष भनेको यसै दिन आगामी चतुर्मासका लागि तुलसीको बिउ वा ‘दल’ राख्नु हो। आजको दिन विशेष विधिपूर्वक राखिएको दलबाट उम्रिएका बिरुवालाई आषाढ शुक्ल एकादशी (हरिशयनी एकादशी) का दिन मठभित्र रोपिन्छ।

र, हरिवोधनी एकादशीका दिन भगवान् विष्णुको प्रतीक दामोदरसँग तुलसीको विवाह गराउने वैदिक परम्परा छ। तुलसीका विभिन्न प्रजातिमध्ये विशेष गरी वैजनी वा गाढा रङको पात हुने ‘श्याम तुलसी’ लाई धार्मिक कार्यमा बढी पवित्र र महत्त्वपूर्ण मानिन्छ।

जन्मदेखि मृत्युसम्मको नाता

मानव जीवनको जन्म संस्कारदेखि मृत्युको अन्तिम क्षणसम्म तुलसीको साथ रहन्छ। हिन्दू संस्कारमा कसैको मृत्युशय्या नजिकिँदै गर्दा वा अन्तिम सास फेरिरहेका बेला उसको मुखमा तुलसीको पात र गङ्गाजल राखिदिने चलन छ। यसले मृत आत्मालाई सांसारिक बन्धनबाट मुक्ति र मोक्ष प्राप्त गर्न सहयोग पुग्ने विश्वास गरिन्छ।

एकादशी व्रत र तुलसी पूजन केवल एउटा कर्मकाण्ड मात्र होइन, यसले मानव समाजलाई अनुशासित, नैतिक, प्रकृतिप्रेमी र आध्यात्मिक बनाउन अहम् भूमिका खेलेको छ। आधुनिक जीवनशैलीका कारण कतिपय पुराना परम्पराहरू ओझेलमा पर्दै गए पनि एकादशी व्रत र तुलसीको महत्त्व नेपाली समाजमा अझै पनि उत्तिकै प्रगाढ छ।

नयाँ पुस्तालाई सन्देश

पण्डित न्यौपानेका अनुसार नयाँ पुस्ताले आफ्नो धर्म र संस्कारलाई रुढीवादी वा अन्धविश्वासका रूपमा मात्र हेर्नु हुँदैन। यसलाई आत्मअनुशासन, आरोग्यता र वातावरण संरक्षणको एउटा बलियो कडीका रूपमा बुझ्नुपर्छ।

सबैले कठोर व्रत बस्न नसके पनि महिनामा दुई पटक आउने (शुक्ल र कृष्ण पक्ष) एकादशीका दिन सात्विक आहार विहार गर्ने, सदाचारमा रहने र तुलसी जस्ता गुणकारी वनस्पतिको संरक्षण गरेमा मात्र पनि सनातन संस्कृतिको वास्तविक संरक्षण हुनेछ र मानव जीवनले सत्कर्मको मार्ग पहिल्याउनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *