रास्वपा महाधिवेशन: समावेशिता र संगठन सुदृढीकरणमा ठुलो सुधार भएको ढकालको दाबी

डिसी नेपाल
१२ असार २०८३ ११:२७

चितवन। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित नेता हरि ढकालले नयाँ कार्यसमिति संगठनात्मक सुदृढीकरण र समावेशिकरणका हिसाबले अघिल्लो संरचनाभन्दा निकै सुधारिएको दाबी गरेका छन्।

महाधिवेशनको नेतृत्व चयन प्रक्रिया र समग्र परिणामबारे प्रतिक्रिया दिँदै उनले देशभरबाट आएका प्रतिनिधिहरूले भूगोलमा खटिने, संगठन निर्माणमा दुःख गर्ने र पार्टीप्रति समर्पित कार्यकर्ताको मेहनतलाई विवेकपूर्ण ढंगले मूल्यांकन गरेर विशेष प्राथमिकता दिएको बताए।

तल्लो तहसम्म संगठन अझै पूर्ण रूपमा प्रशिक्षित भइनसकेको स्वीकार गर्दै नेता ढकालले पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक प्रक्रिया र नेतृत्व चयनमा भने कुनै कमजोरी नरहेको प्रस्ट पारे।

पार्टीभित्रको समावेशी चरित्रबारे चर्चा गर्दै उनले यस पटकको केन्द्रीय समितिमा सबै पक्षको प्रतिनिधित्व निकै राम्रो रूपमा सुनिश्चित गरिएको उल्लेख गरे।

विशेषगरी महिलाहरूका लागि राजनीतिमा आउन अझै पनि चुनौतीपूर्ण र कठिन बाटो पार गर्नुपर्ने अवस्था रहे पनि पार्टीमा उनीहरूको सहभागिता बढ्दै जानु सकारात्मक संकेत भएको उनको भनाइ छ।

समग्रमा कार्यकर्ताको भूमिका र योगदानको कदर गर्दै प्रतिनिधिहरूले विवेकी निर्णय लिएको बताउँदै नेता ढकालले केही पक्षमा अझै सुधारको आवश्यकता रहे पनि यो नयाँ टिमले पार्टीलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *