रास्वपा महामन्त्रीको चुनावी समीकरण फेरियो: विपीन आचार्य बलियो बन्दै, पाँच आकांक्षीद्वारा समर्थन
काठमाडाैं। चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनमा सबैभन्दा बढी चासोको केन्द्र बनेको महामन्त्री पदको चुनावी समीकरणमा नयाँ तरङ्ग आएको छ।
महामन्त्री पदमा दाबेदारी प्रस्तुत गरेका पाँच जना प्रभावशाली नेताहरू गणेश पराजुली, निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटी, पूर्वमन्त्री शिशिर खनाल, प्रमोद न्यौपाने र जगदीश खरेलले आफ्नो मनोनयन फिर्ता लिँदै सहमहामन्त्री विपीन आचार्यलाई सामूहिक रूपमा समर्थन घोषणा गरेका छन्।
महाधिवेशनस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पराजुलीले पार्टीको बृहत्तर हित, आन्तरिक एकता र नेतृत्व तहमा सहजताका लागि आफूहरूले दाबी छोडेर आचार्यलाई साझा उम्मेदवारका रूपमा अगाडि बढाउने विवेकपूर्ण निर्णय लिएको जानकारी दिए।
राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको यस नयाँ ध्रुवीकरणले रास्वपाका संस्थापक नेता एवं वाचापत्र (घोषणापत्र) तयारीदेखि दलको नीति निर्माणमा मुख्य भूमिका खेल्दै आएका इन्जिनियर विपीन आचार्यको पक्षमा बलियो माहौल सिर्जना गरिदिएको छ।
पार्टी सभापति रवि लामिछानेले पनि पदाधिकारी चयनलाई सकभर चुनावभन्दा सहमतिको माध्यमबाट टुङ्ग्याउन निरन्तर आन्तरिक कसरत र छलफल गरिरहेको पृष्ठभूमिमा यो उम्मेदवारी फिर्ताको शृङ्खला आएको हो।
पाँच जना आकांक्षीहरू पछि हटेसँगै अब महामन्त्रीको चुनावी मैदानमा विपीन आचार्यसहित राजुनाथ पाण्डे, रञ्जु दर्शना, गणेश कार्की र सागर ढकाल गरी पाँच जना मात्र बाँकी रहेका छन्, जसका कारण प्रतिस्पर्धा निकै रोचक र बहुकोणीय हुने देखिएको छ।
निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गरी मतदानको प्राविधिक तयारी गरिरहँदा, मैदानमा बाँकी रहेका अन्य आकांक्षीहरूलाई समेत संवादकै माध्यमबाट सहमतिमा ल्याउन शीर्ष नेताहरूले अन्तिम प्रयास जारी राखेका छन्।
यद्यपि, आफ्ना फरक एजेन्डा र सांगठनिक दृष्टिकोणसहित चुनावी मैदानमा होमिएका युवा नेताहरू सागर ढकाल, रञ्जु दर्शना र गणेश कार्कीले भने महाधिवेशन प्रतिनिधिहरूमाझ आ-आफ्नो पक्षमा मत माग्न सुरु गरिसकेका छन्।
पहिलो चरणबाट केन्द्रीय समिति गठन भएपछि सुरु भएको यो दोस्रो चरणको पदाधिकारी चयन प्रक्रियामा महामन्त्री पदका लागि भएको यो नाटकीय फेरबदलले चितवन महाधिवेशनको बन्दसत्रमा नयाँ बहस र उत्साह थपिदिएको छ।






डिसी नेपाल





Facebook Comment