रास्वपा महामन्त्रीमा रञ्जु दर्शनाद्वारा पनि उम्मेदवारी फिर्ता, विपीन आचार्यलाई नै समर्थन
चितवन। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनमा महामन्त्री पदको चुनावी समीकरणमा अर्को ठूलो उलटफेर भएको छ। महामन्त्री पदका लागि बलियो उम्मेदवारका रूपमा हेरिएकी युवा नेत्री रञ्जु दर्शनाले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्।
महामन्त्रीमा साझा उम्मेदवारका रूपमा अगाडि सारिएका सह-महामन्त्री विपीन कुमार आचार्यलाई सहयोग र समर्थन गर्ने घोषणा गर्दै उनले चुनावी मैदान त्यागेकी हुन्। यो नयाँ घटनाक्रमले महाधिवेशन हलभित्र आचार्यको पक्षमा माहोल झनै बलियो बनाएको छ।
यसअघि नै महामन्त्री पदका आकांक्षीहरू निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटी, पूर्वमन्त्री शिशिर खनाल, गणेश पराजुली, प्रमोद न्यौपाने, जगदीश खरेल र राजुनाथ पाण्डेले सामूहिक तथा व्यक्तिगत रूपमा उम्मेदवारी फिर्ता लिई आचार्यलाई समर्थन गरिसकेका छन्।
पार्टीभित्र सहमतिको नेतृत्व चयन गर्न शीर्ष तहबाट भइरहेको प्रयास र उम्मेदवारहरूबीचको बढ्दो समझदारीका कारण एकपछि अर्को गर्दै प्रभावशाली नेताहरू पछि हटेका हुन्।
नेताहरूले उम्मेदवारी फिर्ता लिने क्रम बढेसँगै अब महामन्त्रीको चुनावी मैदान निकै साँघुरिएको छ भने चितवन महाधिवेशनको बन्दसत्रमा सर्वसम्मत नेतृत्व चयनको सम्भावना बलियो बन्दै गएको छ।






डिसी नेपाल





Facebook Comment