विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा असार १६ गते सुनुवाइ हुने

डिसी नेपाल
१२ असार २०८३ १४:०९

काठमाडाैं। नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ यही असार १६ गते हुने भएको छ।

पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उहाँकी श्रीमती दोमाया पौडेलले यही असार १० गते अदालतमा रिट निवेदन दर्ता गराउनुभएको थियो।

उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार १५ गतेभित्र महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्ने र त्यसको भोलिपल्ट अर्थात् असार १६ गते पूर्ण सुनुवाइ गर्ने आदेश दिएको हो।

यसअघि उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि यही असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। पक्राउ परेलगत्तै असार ९ गते उनलाई काठमाडौँस्थित विशेष अदालतमा उपस्थित गराइएको थियो।

विशेष अदालतले उनीमाथि थप अनुसन्धान गर्नका लागि सात दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ। हाल नेता पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिरासतमा राखेर विस्तृत अनुसन्धान अघि बढाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *