रास्वपा महाधिवेशन: मनिष झाद्वारा पार्टीभित्र गुटबन्दी भएको खुलासा, गुटबन्दर्ताहरूलाई कारबाही गर्न रविलाई आग्रह

डिसी नेपाल
१२ असार २०८३ १४:१९

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीभित्र गुटबन्दीको प्रयास भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

चितवनमा जारी पार्टीको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता झाले गुटबन्दीमा लागेकाहरूलाई कारबाही गर्न पार्टी सभापति रवि लामिछानेसँग जोडदार माग गरेका हुन्।

उनले यदि संस्थापन पक्ष एकजुट भएको हो भने यसरी पार्टीभित्रै समूह वा गुट बनाउन खोज्ने तत्वहरूलाई तत्काल कानुनी र सांगठनिक दायरामा ल्याएर कारबाही गरिनुपर्ने स्पष्ट पारे।

चितवनमा जारी महाधिवेशनको दोस्रो चरणअन्तर्गत यतिबेला नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया चलिरहेको छ। पार्टीका शीर्ष नेताहरू सहमतीय खाका कोर्न असफल भएपछि महामन्त्रीसहितका महत्त्वपूर्ण पदहरूमा लोकतान्त्रिक विधि (निर्वाचन) मार्फत टुङ्गो लगाइँदैछ।

यसअघि नै सभापति पदमा रवि लामिछाने र खुला उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन्।

महामन्त्री पदका अन्य धेरै आकांक्षीहरूले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि अहिले यो शक्तिशाली पदका लागि मनिष झा, विपिन आचार्य, रञ्जु दर्शना, सागर ढकाल र गणेश कार्कीबिच निकै रोचक र कडा प्रतिस्पर्धा भइरहेको छ।

यसै चुनावी माहोलबिच सञ्चारकर्मीहरूसँग बोल्दै महामन्त्रीका बलिया दाबेदार झाले चुनावी मैदानमा उत्रिएका मतदाताहरूको प्रतिक्रिया (रेस्पोन्स) आफूप्रति निकै सकारात्मक र उत्साहजनक रहेको बताए।

मतदान स्थलमा प्रतिनिधिहरूको राम्रो साथ पाएकाले निर्वाचनको अन्तिम परिणाम आफ्नै पक्षमा आउने र आफू भारी मतका साथ विजयी हुनेमा उनी पूर्ण रूपमा विश्वस्त देखिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *