रास्वपा व्यक्तिकेन्द्रित दल हो, संगठनात्मक रूपमा परिपक्व बन्न बाँकी छ: एमाले महासचिव शंकर पोखरेल
काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हालै सम्पन्न प्रथम महाधिवेशनको चुनावी परिणामलाई लिएर गम्भीर राजनीतिक टिप्पणी गरेका छन्।
महाधिवेशनको निर्वाचन नतिजा सार्वजनिक भएसँगै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै महासचिव पोखरेलले रास्वपा अझै पनि संगठनात्मक रूपमा परिपक्व राजनीतिक दल बन्न बाँकी रहेको दाबी गरेका छन्।
विगतमा रास्वपाले राजनीतिक मुद्दाका रूपमा जोडतोडका साथ उठाएको ‘नो भोट’ को प्रसंग स्मरण गराउँदै पोखरेलले महाधिवेशनको आन्तरिक निर्वाचन परिणाममाथि तिखो व्यङ्ग्य समेत प्रहार गरेका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, “हिजो ‘नो भोट’ को चर्को वकालत गर्ने रास्वपाका साथीहरूले चितवन महाधिवेशनको चुनावी परिणाम हेर्नुभयो? ‘नो भोट’ को व्यवस्था हुन्थ्यो भने पदाधिकारीमा रवि र केन्द्रीय सदस्यमा जम्मा ९ जना मात्र चुनिने रहेछन्।” महासचिव पोखरेलले रास्वपाभित्रको निर्वाचन पद्धति र प्राप्त मतको विश्लेषण गर्दै यो पार्टी नीति र संगठनभन्दा पनि नितान्त व्यक्तिकेन्द्रित जगमा उभिएको टिप्पणी गरेका छन्।
रास्वपाको सांगठनिक ढाँचामाथि प्रश्न उठाउँदै उनले थप लेखेका छन्, “यसले प्रमाणित गर्छ- रास्वपा भनेकै रवि र रवि भनेकै रास्वपा हुन्। रास्वपा संगठनात्मक रूपमा पार्टी बन्न त बाँकी नै रहेछ।”
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन पश्चात् नयाँ कार्यसमिति र पदाधिकारी चयन भएसँगै यतिखेर राजनीतिक वृत्तमा विभिन्न टिकाटिप्पणीहरू सुरु भएका छन्। यसै क्रममा प्रमुख सत्तारुढ दल एमालेका मुख्य संवाहक मानिने महासचिव पोखरेलको यो भनाइलाई राजनीतिक क्षेत्रमा निकै चासोका साथ हेरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment