सीमा विवाद र गणतन्त्रको मुद्दा संसदमा: प्रधानमन्त्रीलाई संसदमै जवाफ दिन कांग्रेसको माग, नेकपाद्वारा व्यवस्था रक्षाको आह्वान

डिसी नेपाल
१४ असार २०८३ ११:५९

काठमाडौं। आइतबारको प्रतिनिधिसभा बैठकमा देशको राजनीतिक व्यवस्था र प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच गम्भीर बहस भएको छ।

बैठकमा बोल्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले लोकप्रियताको आवरणमा गणतान्त्रिक व्यवस्थामाथि प्रहार गर्ने प्रयास भइरहेको भन्दै यसप्रति आफ्नो पार्टी गम्भीर र सचेत रहेको बताए।

उनले जनमतको शक्तिलाई प्रयोग गर्दै गणतन्त्रको संरचनालाई कमजोर बनाउने कपटपूर्ण गतिविधि बढिरहेको भन्दै लोकतान्त्रिक शक्तिहरूलाई सतर्क रहन आग्रह गरे।

संसद्मा आफ्नो पार्टीको उपस्थिति सानो भए पनि विचारका हिसाबले बलियो रहेको जिकिर गर्दै सांसद दुलालले सही विचारले समयसँगै विकास हुँदै समाजलाई प्रभाव पार्न सक्ने बताए।

उनले पछिल्लो निर्वाचनको परिणामलाई स्थायी हारका रूपमा नलिई आफ्नो पार्टी सशक्त प्रतिस्पर्धीका रूपमा उदाउने विश्वास व्यक्त गर्दै वर्तमान व्यवस्थाप्रति पूर्वाग्रही दृष्टिकोण राख्ने दुस्साहस भए देशमा पुनः द्वन्द्व सिर्जना हुन सक्ने चेतावनी दिए।

यसै बैठकमा नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्रीले संसद्मा उठाइएको नेपाल–भारत सीमा सम्बन्धी विवादित अभिव्यक्तिबारे सदनमै उपस्थित भई स्पष्ट जवाफ दिनुपर्ने माग गरिन्।

उनले नेपाली कांग्रेसले यस संवेदनशील विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै आएको स्मरण गराउँदै प्रधानमन्त्रीको अभिव्यक्तिको जवाफ माग गरिन्।

सांसद काउचाले प्रतिपक्षी दलहरूको उद्देश्य प्रधानमन्त्रीलाई अप्ठ्यारोमा पार्ने नभई संसद्को अभिलेख सच्याई राष्ट्रिय हित, कूटनीतिक मर्यादा र प्रधानमन्त्री पदको संस्थागत गरिमा जोगाउनु रहेको स्पष्ट पारिन्।

प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर जवाफ दिनुभन्दा आफ्नै पार्टीको महाधिवेशनको मञ्चबाट प्रतिक्रिया दिएकोमा उनले असन्तुष्टि व्यक्त गरिन्।

प्रधानमन्त्रीले दिने अभिव्यक्ति व्यक्तिगत वा दलगत मात्र नभएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा नेपालको आधिकारिक सन्देश मानिने भएकाले यस्ता विषयमा उनी जिम्मेवार हुनुपर्ने धारणा सांसद काउचाले राखिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *