गल्ती र कमजोरीप्रति सबै कम्युनिस्टले आत्मसमीक्षा गरौं : माधव नेपाल
काठमाडौं । नेकपाका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालका सबै कम्युनिस्ट घटकहरूलाई आफ्ना गल्ती र कमजोरीप्रति गम्भीर आत्मसमीक्षा गर्न आग्रह गरेका छन्।
‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै नेता नेपालले कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन यथार्थवादी बन्नुपर्नेमा जोड दिए। जननेता मदन भण्डारीको भनाइलाई उद्धृत गर्दै उनले भने, ‘कुरा गरेर मात्रै चिउरा भिज्नेवाला छैन। कुरो मात्रै गरेर केही पनि हुनेवाला छैन।’
सहसंयोजक नेपालले कम्युनिस्ट पार्टीहरू किन कमजोर भए भन्ने विषयमा निर्मम समीक्षा गर्नुपर्ने बताए। उनले भने, ‘हामीले जनताको बदलिंदो मनोविज्ञानलाई बुझ्न सकेनौं कि हामीमा विकृति आयो? हामी कहाँ चुक्यौं? विचार, सिद्धान्त वा हाम्रो व्यक्तिवादी चिन्तन, अहङ्कार एवं भ्रष्टाचार गर्ने प्रवृत्तिका कारणले हो? यी सबै विषयमा आत्ममन्थन गर्न आवश्यक छ।’
आत्मकेन्द्रित चिन्तन र ‘मै हुँ’ भन्ने प्रवृत्तिलाई परास्त नगरेसम्म केवल गफ मात्रै हुने भन्दै उनले चेतावनी दिए। उनले भने, ‘समाजवादी क्रान्तिको यो चरणमा हामी कसरी अघि बढ्ने? नेपालको कम्युनिस्ट आन्दोलनलाई फेरि कसरी सुदृढ गर्ने? यसका लागि सबै कम्युनिस्ट घटकहरू एक ठाउँमा उभिन सक्नुपर्छ।’
कार्यक्रममा नेता नेपालले जननेता मदन भण्डारीको आदर्श र विचारलाई स्मरण गरे। उनले भण्डारीको दूरदर्शी सोच, समस्या पहिचान गर्ने क्षमता, यथार्थ धरातलमा टेकेर काम गर्ने शैली र पार्टी अनुशासनको प्रशंसा गरे। ‘मदन भण्डारीले प्रतिस्पर्धामा श्रेष्ठ हुने कुरामा जोड दिनुहुन्थ्यो। जनताको बहुदलीय जनवाद (जबज) का कतिपय पक्षहरू आज पनि हाम्रा लागि उत्तिकै सान्दर्भिक छन्,’ नेपालले भने।
अन्त्यमा, उनले कम्युनिस्ट आन्दोलनको भविष्यका लागि मिल्नसक्ने सबै विषयमा सहकार्य गर्दै अघि बढ्नुपर्ने आजको प्रमुख आवश्यकता रहेको जिकिर गरे।






डिसी नेपाल





Facebook Comment