मदन जयन्तीको मञ्चमा चार पूर्वप्रधानमन्त्री: वाम एकता, सहकार्य र आत्मसमीक्षामा साझा जोड

डिसी नेपाल
१४ असार २०८३ १९:०८

काठमाडौं। जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित एक विशेष समारोहमा नेपालका प्रमुख वामपन्थी नेता तथा चार पूर्वप्रधानमन्त्रीहरू एउटै मञ्चमा उपस्थित भएका छन्।

मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा पुरस्कार हस्तान्तरण कार्यक्रममा शीर्ष नेताहरूले बदलिँदो राजनीतिक परिस्थितिमा वामपन्थी शक्तिहरूबीच कार्यगत सहकार्य र सिद्धान्तनिष्ठ एकता हुनुपर्नेमा जोड दिएका छन्।

समारोहमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले विचार राख्दै कम्युनिस्ट आन्दोलनको रक्षाका लागि एकजुट हुनुको विकल्प नभएको धारणा व्यक्त गरे।

एमाले लडेको हो, मरेको छैन: केपी शर्मा ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा पार्टीले धक्का बेहोरे पनि समाप्त नभएको दाबी गर्दै फेरि उठेर प्रतिगमनलाई पराजित गर्ने उद्घोष गरे।

एमालेविरुद्ध झुटा प्रचार र अफवाह फैलाएर बदनाम गर्ने प्रयास भइरहेको आरोप लगाउँदै उनले भने, “हामी अहिले लडेका छौँ, तर मरेका होइनौँ। हाम्रो विजय अवश्यंभावी छ।” सोभियत संघको विघटन र पूर्वी युरोपमा कम्युनिस्ट आन्दोलन संकटमा परेका बेला मदन भण्डारीले अघि सारेको ‘जनताको बहुदलीय जनवाद’ (जबज) को प्रकाशमा पार्टीले सही बाटो लिएको उनले स्मरण गरे।

एमालेको गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ नै समाजवादको व्यावहारिक स्वरूप भएको व्याख्या गर्दै उनले वर्तमान सरकार लोकतान्त्रिक र वामपन्थी शक्तिलाई कमजोर पार्ने उद्देश्यका साथ वैधानिक सरकार हटाएर बनाइएको प्रतिगमनको उपज भएको दाबी गरे।

आजै र अहिलैदेखि कार्यगत सहकार्य थालौँ: प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामपन्थी एकताका लागि सहकार्य गर्न ढिला गर्नु देशका लागि ठूलो गल्ती हुने चेतावनी दिए।

विचार मिल्नेहरू एकजुट नहुँदा देशमा दुर्भाग्य निम्तिन सक्ने उल्लेख गर्दै उनले भने, “पार्टी एकता आजको भोलि नै नहोला, तर कार्यगत सहकार्यका लागि आजै, भरे वा भोलि नै तयार हुनुपर्छ।”

तत्कालीन कठिन परिस्थितिमा मदन भण्डारीको ‘जबज’ ले नेपाली कम्युनिस्ट आन्दोलनलाई जीवन्त राख्न ऐतिहासिक भूमिका खेलेको स्वीकार गर्दै उनले मार्क्सवादी दर्शनले परिवर्तनलाई स्वीकार गर्ने भएकाले कुनै पनि विचार सर्वकालिक नहुने र समयअनुसार यसको विकास आवश्यक रहेको धारणा राखे। वि.सं. २०७४ को निर्वाचनअघि सोही हलबाट भएको कम्युनिस्ट सहकार्य र एकताको स्मरण गर्दै उनले वर्तमान सरकार संविधानका आधारभूत विषय र उत्पीडित समुदायमाथि प्रहार गर्न उद्यत रहेको आरोप लगाए।

नाराले मात्र होइन, इमानदार आत्मसमीक्षाले एकता सम्भव: माधव नेपाल

सोही पार्टीका सह–संयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलन किन कमजोर भयो भन्ने विषयमा सबै कम्युनिस्ट घटकहरूले इमानदार आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिए। व्यक्तिवाद, भ्रष्टाचार, जनतासँगको दूरी र संगठनभित्रका विकृतिहरूलाई नहर्टाई आन्दोलन अघि बढ्न नसक्ने उनको भनाइ थियो।

जननेता मदन भण्डारीको ‘कुराले चिउरा भिज्दैन’ भन्ने भनाइ उद्धृत गर्दै नेता नेपालले कम्युनिस्ट एकता केवल नारामा सीमित नभएर साझा मुद्दाहरूमा आधारित व्यावहारिक सहकार्य र विश्वासका आधारमा दिगो हुनुपर्ने बताए। उनले नेपालको राष्ट्रियता अहिले चुनौतीपूर्ण अवस्थामा रहेको र विदेशी शक्तिको बढ्दो चलखेलप्रति वर्तमान सरकार पर्याप्त संवेदनशील नरहेको आरोप समेत लगाए।

वामपन्थी विभाजनले संकट निम्त्यायो: झलनाथ खनाल

नेपाली कम्युनिस्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी शक्तिहरू विभाजित हुँदा देशमा अहिलेको जटिल राजनीतिक अवस्था सिर्जना भएको दाबी गरे। विगतको निर्वाचनअघि नै प्रमुख वामपन्थी दलहरूबीच कार्यगत एकता भएको भए परिस्थिति फरक हुने उल्लेख गर्दै उनले भने, “यदि निर्वाचनअघि कार्यगत एकता भएको भए वामपन्थीहरूको बलियो उपस्थिति हुन्थ्यो र मुलुकमा तानाशाही परिस्थिति देख्नुपर्ने थिएन।”

मदन भण्डारीको हत्यालाई कम्युनिस्ट आन्दोलन निस्तेज पार्ने षड्यन्त्रका रूपमा व्याख्या गर्दै खनालले देशलाई वर्तमान संकटबाट मुक्त गर्ने वास्तविक देशभक्त शक्ति नै वामपन्थी भएकाले पुराना कार्यदिशा छोडेर नयाँ नीति र सिद्धान्तका साथ एकजुट हुन आग्रह गरे।

‘श्वेतशार्दूल’ का लागि रमेश रुछेन राई पुरस्कृत

पूर्वराष्ट्रपति एवं मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरियो। राईले जननेता मदन भण्डारीको जीवन र योगदानमाथि तयार पारेको अनुसन्धानमूलक कृति ‘श्वेतशार्दूल’ का लागि नगद दुई लाख रुपैयाँ र सम्मानपत्रसहित पुरस्कृत गरिएको हो।

लामो समयपछि एउटै मञ्चमा उभिएर पूर्वप्रधानमन्त्रीहरूले व्यक्त गरेको वाम एकता र सहकार्यको प्रतिबद्धतालाई नेपाली राजनीतिमा निकै चासो र महत्त्वका साथ हेरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *