साम्यवादमा पुगेपछि कम्युनिष्ट पार्टीको औचित्य सकिन्छ, पुँजीवादले भ्रष्टाचार रोक्न सक्दैन: नेता खनाल
काठमाडौं। नेपाली कम्युनिष्ट आन्दोलनलाई समाजवादी क्रान्तिको नयाँ चरणअनुसार अगाडि बढाउन अब ‘नेपाली विशेषताको वैज्ञानिक समाजवादी कार्यक्रम’ अनिवार्य भइसकेको नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बताएका छन्।
कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको १०२औँ जन्मजयन्तीका अवसरमा सोमबार आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले पुरानै शैलीको नयाँ जनवादी क्रान्तिको कार्यक्रम बोकेर अबको समाजवादी क्रान्ति सम्पन्न गर्न नसकिने प्रष्ट पारे।
नेता खनालले समय, समाजको प्रधान अन्तर्विरोध, क्रान्तिका मित्र तथा शत्रु र अन्तर्राष्ट्रिय परिस्थिति समेत पूर्ण रूपमा परिवर्तन भइसकेकाले कम्युनिष्ट आन्दोलनले पनि नयाँ र परिमार्जित कार्यदिशा तय गर्नुपर्ने आवश्यकता औँल्याए।
एउटा बलियो पार्टीका रूपमा कम्युनिष्ट शक्तिलाई विकसित नगरी समाजवादी क्रान्तिलाई पूरा गर्न कठिन हुने बताउँदै नेता खनालले अबको युग समाजवादी क्रान्तिको युग भएकाले यसको ठोस कार्यक्रमबारे बहस चलाउनु अत्यावश्यक भइसकेको उल्लेख गरे।
समय र क्रान्तिको स्वरूप बदलिएकाले नयाँ जनवादी कालका कार्यक्रमहरूले अबको आवश्यकता पूरा गर्न नसक्ने उनको भनाइ छ। यस्तो परिप्रेक्ष्यमा नयाँ शिराबाट समाजवादी क्रान्ति र रूपान्तरणको कार्यक्रमलाई अगाडि सार्नुपर्ने र त्यो नै वैज्ञानिक समाजवादको कार्यक्रम हुने उनले दाबी गरे।
आफूले लेखन गरेको ‘वैज्ञानिक समाजवाद कि बहुदलीय जनवाद’ नामक पुस्तकले यही वैचारिक बहसलाई प्रतिनिधित्व गरेको उल्लेख गर्दै उनले अब नेपालका सबै कम्युनिष्ट शक्तिहरू एकै ठाउँमा उभिएर वैज्ञानिक समाजवादको साझा कार्यक्रम घोषणा गर्नुपर्ने बेला आएको बताए।
माक्र्सवादी द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तअनुसार संसारमा कुनै पनि वस्तु वा संस्थाको उत्पत्ति र अन्त्य निश्चित हुने बताउँदै उनले यही नियम राजनीतिक दलहरूमा पनि लागू हुने तर्क गरे।
आदिम साम्यवाद, दासप्रथा र सामन्ती व्यवस्थाको कालखण्डमा आधुनिक अर्थमा राजनीतिक दलहरूको अस्तित्व नरहेको स्मरण गराउँदै उनले पुँजीवादको विकाससँगै पुँजीपति र श्रमिक वर्गका पार्टीहरूको जन्म भएको उल्लेख गरे।
कम्युनिष्ट पार्टीका तीनवटा ऐतिहासिक जिम्मेवारी हुने स्पष्ट पार्दै उनले पहिलो जनवादी क्रान्ति सम्पन्न गर्ने, दोस्रो समाजवादी क्रान्ति सम्पन्न गर्ने र तेस्रो समाजवाद निर्माण गर्दै मानव समाजलाई साम्यवादसम्म पुर्याउने कार्य रहेको बताए।
यी सबै ऐतिहासिक जिम्मेवारीहरू पूरा भएपछि कम्युनिष्ट पार्टीको ऐतिहासिक आवश्यकता र अस्तित्व स्वतः समाप्त हुने उनको धारणा थियो। वर्तमान पुँजीवादी व्यवस्थाले देशमा व्याप्त भ्रष्टाचार, शोषण, अन्याय र अत्याचारजस्ता गम्भीर समस्याहरूको दीर्घकालीन समाधान गर्नै नसक्ने दाबी समेत नेता खनालले गरे।






डिसी नेपाल





Facebook Comment