तस्करी नियन्त्रण र सुरक्षा सुदृढीकरणमा रौतहट प्रहरीको नयाँ रणनीति: सीमा नाकामा कडाइ

डिसी नेपाल
१५ असार २०८३ १४:०४

रौतहट। खुला सीमानाका कारण सुरक्षा र तस्करीको दृष्टिकोणले सधैं संवेदनशील मानिने मध्य तराईको रौतहट जिल्लामा पछिल्लो समय सुरक्षा व्यवस्थालाई निकै चुस्त र आक्रामक बनाइएको छ।

गृहमन्त्रीले हालै छिमेकी जिल्लाहरू बारा र पर्साको आकस्मिक (छड्के) अनुगमन गरी सीमा क्षेत्रबाट हुने तस्करी पूर्ण रूपमा नियन्त्रण गर्न र शान्तिसुरक्षा कायम गर्न कडा निर्देशन दिएपछि रौतहट प्रहरी थप सक्रिय, जिम्मेवार र व्यावसायिक ढंगबाट मैदानमा उत्रिएको हो।

जिल्लावासीको मन जित्ने र कानुनी राज्यको प्रत्याभूति गराउने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालय रौतहटले आफ्ना मातहतका सम्पूर्ण ‘युनिट’हरूलाई उच्च सतर्कताका साथ परिचालन गरेको छ।

प्रहरी उपरीक्षक एवं रौतहट प्रहरी प्रमुख सीताराम रिजालले बदलिँदो सुरक्षा परिस्थितिलाई सूक्ष्म रूपमा विश्लेषण गरी जिल्लास्थित अन्य सुरक्षा निकायहरू (सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग) सँगको सुदृढ समन्वयमा सुरक्षा घेरा बलियो बनाएको जानकारी दिए।

उनका अनुसार जिल्लाका अति संवेदनशील र संवेदनशील क्षेत्रहरूको पहिचान गरी रणनीतिक रूपमा हरेक पाँच किलोमिटरको दूरीमा प्रहरी पोस्ट वा मोबाइल गस्तीको व्यवस्था गरिएको छ।

जिल्ला प्रहरी कार्यालय गौरको प्रत्यक्ष कमान्डमा चपुर (चन्द्रनिगाहापुर) र गरुडामा रहेका प्रहरी कार्यालयहरूको निरन्तर निगरानी रहने गरी मातहतका १० वटा इलाका प्रहरी कार्यालयसहित जिल्लाभरका पोस्टहरूमा करिब ९०० को संख्यामा प्रहरी जनशक्ति तैनाथ गरिएको छ। यो विशेष सक्रियतापछि जिल्लाको शान्तिसुरक्षा र अपराध नियन्त्रणमा निकै सकारात्मक परिणामहरू देखिन थालेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार रौतहटको सुरक्षालाई पूर्ण अभेद्य बनाउन छिमेकी जिल्लाहरू बारा, पर्सा र सर्लाहीका सुरक्षा अधिकारीहरूसँग समेत ‘इन्टर-डिस्ट्रिक्ट’ समन्वय र सूचना आदानप्रदान गर्ने प्रणाली विकास गरिएको छ।

प्रहरीले अवैध कारोबार र तस्करीमा संलग्न जोसुकैलाई राजनीतिक वा अन्य दबाबको प्रवाह नगरी तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन थालेपछि सीमा क्षेत्रमा सक्रिय तस्करहरूको भागाभाग भएको छ।

यस कडाइका कारण विगतका तुलनामा भन्सार छलीका सामानहरू ठुलो परिमाणमा समातिएका छन्, जसले गर्दा गौर भन्सार कार्यालयको राजस्व संकलनमा समेत उल्लेखनीय वृद्धि भएको छ।

हाल जिल्लाका सरमुजवा (बङ्कुल), मोतिपुर नरकटिया, रामपुरखात, जयनगर, मठिया, औरैया, बजरहा, अमरपट्टि, गौर भन्सार र बेलबिचवा गरी १० वटा इलाका प्रहरी कार्यालय र तिनका मातहतका बुथहरूले चौबीसै घण्टा गस्ती र ‘चेकजाँच’ गरिरहेका छन्।

रौतहटको यस सुरक्षा रणनीतिलाई छिमेकी जिल्ला बाराको सीमा क्षेत्रमा चालिएको कदमले थप बल पुर्‍याएको छ। रौतहटसँगै जोडिएको बाराको सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालयले पनि अपराध र तस्करी नियन्त्रणलाई महाअभियानकै रूपमा अघि बढाएको छ।

उक्त कार्यालयका प्रहरी निरीक्षक कृष्णादेव साहका अनुसार सीमा नाकाबाट हुने गैरकानुनी ओसारपसार रोक्न रौतहट नजिकै पर्ने कचौरवासहित अडुवा खोला, पचरौता, पिपरपाटी र घाटतोला जस्ता चोरबाटो र नाकाहरूमा सुरक्षा निगरानी तीब्र पारिएको छ।

यसै अभियान अन्तर्गत सिम्रौनगढ प्रहरीले पछिल्लो आठ महिनामा मात्रै करिब रु एक करोड १० लाख मूल्य बराबरको अवैध सामान बरामद गरी आवश्यक कारबाहीका लागि पथलैया भन्सार कार्यालयमा बुझाइसकेको छ, जसमा गत शनिबार एकै दिन समातिएको रु ३० लाख ९० हजार मूल्यको कपडा, खाद्यान्न र विद्युतीय सामान समेत समावेश छन्।

भौगोलिक रूपमा रौतहटको दक्षिणी सिमाना भारतको विहार राज्यको सीतामढी र पूर्वी चम्पारण जिल्लासँग जोडिएको छ। खुला सिमानाका कारण विगतमा भन्सार छली, लागूपदार्थ (विशेष गरी डाइजपाम, बुप्रिनर्फिन जस्ता फर्मास्युटिकल ड्रग्स) को ओसारपसार र साना हतियारको ओसारपसार मुख्य सुरक्षा चुनौती बन्दै आएका थिए।

तर, हाल नेपाल प्रहरीले ‘जिरो टोलरेन्स’ नीति अख्तियार गर्दै सीमा क्षेत्रका स्थानीय बासिन्दा र युवाहरूलाई समेत समेटेर ‘समुदाय-प्रहरी साझेदारी’ कार्यक्रममार्फत सूचना संयन्त्र बलियो बनाएको छ।

यसले गर्दा सीमावर्ती अपराध, चोरी-डकैती र अवैध हुन्डी कारोबारमा समेत उल्लेख्य कमी आएको छ र समग्र रौतहटको सुरक्षा व्यवस्था आम नागरिकले अपेक्षा गरेभन्दा बढी भरपर्दो र विश्वसनीय बन्न सफल भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *