गृहमन्त्री गुरुङले आफ्नै सवारीबाट हटाए कालो सिसा

डिसी नेपाल
१५ असार २०८३ १६:२३

काठमाडौं । सार्वजनिक तथा निजी सवारीसाधनमा जडान गरिएका कालो सिसा हटाउने अभियानलाई प्रभावकारी बनाउन गृहमन्त्री सुधन गुरुङले आफ्नै सरकारी सवारीसाधनबाट सुरुवात गर्नुभएको छ।

सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षणका क्रममा मन्त्री गुरुङले आफूले प्रयोग गर्दै आएको सवारीसाधनमा रहेको कालो सिसा तत्काल हटाउन निर्देशन दिएका हुन्।

मन्त्री गुरुङले कानुनको पालना सबैका लागि समान हुनुपर्नेमा जोड दिँदै सरकारी वा निजी जुनसुकै सवारी भए पनि नियमविपरीत जडान गरिएका कालो सिसा हटाउने कार्यमा कुनै सम्झौता नगर्न ट्राफिक प्रहरीलाई स्पष्ट निर्देशन दिएका छन्।

निरीक्षणका क्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्ले लगायतका अधिकृतहरूसँगको छलफलमा उहाँले अभियानलाई थप प्रभावकारी र कडाइका साथ अघि बढाउन आग्रह गरे।

काठमाडौं उपत्यका ट्राफिक प्रहरीले असार १४ गतेदेखि सवारीसाधनमा राखिएका कालो सिसा हटाउने अभियान सञ्चालन गरिरहेको छ। अभियानको पहिलो चरणमा सिसामा टाँसिएका कालो स्टिकर हटाउने काम भइरहेको छ।

यसैबीच, कम्पनीबाटै कालो सिसा जडान भएर आएका सवारीसाधनको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा ट्राफिक प्रहरीले सोमबार नै गाडी बिक्रेता कम्पनीका प्रतिनिधिहरूसँग पनि आवश्यक छलफल गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *