नेपाली बजारमा एलजीको नयाँ ‘एसेन्सियल सिरिज’ सार्वजनिक: किफायती मूल्यमा आधुनिक घरेलु उपकरण भित्रिए

डिसी नेपाल
१६ असार २०८३ १०:४९

इटहरी। विश्वप्रसिद्ध ब्रान्ड एलजी इलेक्ट्रोनिक्स (एलजी) ले नेपाली उपभोक्ताहरूको आवश्यकता र जीवनशैलीलाई मध्यनजर गर्दै नयाँ घरेलु उपकरण श्रृंखला ‘एलजी एसेन्सियल सिरिज’ नेपाली बजारमा ल्याएको छ।

एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरले नेपालका लागि आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा सुनसरीको इटहरीस्थित रामदा होटलमा एक विशेष कार्यक्रम आयोजना गरी उक्त नयाँ उत्पादन श्रृंखलाको औपचारिक अनावरण गरेको हो।

कम्पनीले “हरेक घरको खुशी, घर-घरमा LG” भन्ने मूल अभियानअन्तर्गत यी नयाँ उत्पादनहरू नेपाली बजारमा प्रस्तुत गरेको हो। आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, उच्च टिकाउपन तथा किफायती मूल्यलाई एकैसाथ समेटेर डिजाइन गरिएका यी उपकरणहरूले नेपाली परिवारको दैनिक जीवनशैलीलाई थप सहज र गुणस्तरीय बनाउने एलजीको विश्वास छ।

यस नयाँ श्रृंखलाअन्तर्गत नेपाली बजारको स्थानीय परिस्थिति अनुकूल हुने गरी विशेष रूपमा डिजाइन गरिएका डबल-डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप-लोड वासिङ मेसिन र रूम एयर कन्डिसनरहरू समावेश गरिएका छन्।

नयाँ रेफ्रिजेरेटरमा ‘फ्रस्ट-फ्री प्रविधि’ प्रयोग गरिएको छ, जसले गर्दा उपभोक्ताले म्यानुअल रूपमा बर्फ पगाल्नुपर्ने झन्झट हुँदैन। यसमा रहेको ‘स्मार्ट मोड’ सुविधाले मौसमअनुसार स्वचालित रूपमा चिस्यान नियन्त्रण गर्छ भने नेपाली परिवारको आवश्यकतालाई ध्यानमा राख्दै अघिल्ला मोडेलहरूको तुलनामा २० प्रतिशत ठूलो तरकारी भण्डारण क्षमता (भेजिटेबल बक्स) थपिएको छ।

नेपालका विविध वातावरणीय अवस्था र पानीको समस्यालाई दृष्टिगत गरी तयार पारिएको नयाँ वासिङ मेसिनमा प्रोसिल्ड मोटर, बिएमसी कभर तथा पानीले नबिग्रने ‘IPX4 प्रमाणित’ वाटर-रेसिस्टेन्ट कन्ट्रोल प्यानल जस्ता सुविधाहरू रहेका छन्।

यसमा जडान गरिएको ‘लो-प्रेशर फिल प्रविधि’ का कारण कम पानीको चाप भएको ठाउँमा पनि कपडा उत्कृष्ट र प्रभावकारी रूपमा धुन सकिन्छ।

यसैगरी, नयाँ रूम एयर कन्डिसनर ऊर्जा-दक्ष प्रविधिमा आधारित छ, जसले जाडोमा तातो र गर्मीमा चिसो दुवै सुविधा प्रदान गर्छ। परम्परागत नन-इन्भर्टर एसीको तुलनामा निकै कम विद्युत् खपत गर्ने यस एयर कन्डिसनरमा पूर्ण रूपमा वातावरणमैत्री ‘R32 रेफ्रिजेरेन्ट’ ग्यासको प्रयोग गरिएको छ भने यसको न्यून ध्वनि सञ्चालन प्रणालीले प्रयोगकर्तालाई शान्त र आरामदायी अनुभव दिन्छ।

नयाँ एलजी एसेन्सियल सिरिजका उत्पादनहरूको बिक्री वितरण नेपालभर जुन २०२६ देखि नै सुरु भइसकेको छ। यस श्रृंखलाका प्रारम्भिक मोडेलहरूको बजार मूल्य करिब ४९ हजार ६ सय ९० रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ। यी सामानहरू ग्राहकहरूले देशभरका आधिकारिक एलजी ब्रान्ड शप, मल्टि-ब्रान्ड रिटेल आउटलेट तथा प्रमुख ई-कमर्स प्लेटफर्महरू मार्फत सजिलै खरिद गर्न सक्नेछन्।

विगत चार दशकभन्दा लामो समयदेखि एलजीसँग सहकार्य गर्दै आएको चौधरी ग्रुप अन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले एलजीलाई नेपाली उपभोक्तामाझ एक अग्रणी र विश्वासिलो ब्रान्डका रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *