हुलाक सेवालाई लोकप्रिय बनाउन आधुनिकीकरण र डेलिभरी प्रणालीको पुनः डिजाइन अपिरहार्य: सञ्चारमन्त्री
काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले परम्परागत हुलाक सेवालाई समयसापेक्ष आधुनिकीकरण नगरी नागरिकले महसुस गर्ने गरी प्रभावकारी सेवा प्रवाह सम्भव नहुने बताएका छन्।
हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले सरकारले हुलाकमार्फत नागरिकका सबै प्रकारका कागजात तथा पार्सलहरू समयमै सुरक्षित रूपमा गन्तव्यमा पुर्याउन स्पष्ट प्रतिबद्धता जनाएका हुन्।
उनले हुलाक सेवा विभाग र यस क्षेत्रमा लामो समयदेखि कुरियर तथा डेलिभरी सेवा प्रदान गरिरहेका निजी सेवा प्रदायकहरूसँग अर्थपूर्ण सहकार्य गर्दै देखिएका सम्पूर्ण कानुनी र व्यावहारिक समस्या समाधान गर्न सरकार अगाडि बढेको जानकारी दिए।
मन्त्री तिमिल्सिनाका अनुसार नागरिकले स्वेच्छिक हिसाबले चाहेको जुनसुकै बेला पनि हुलाकका माध्यमबाट आफ्ना सामग्रीहरू द्रुत गतिमा पठाउन सक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको छ।
उनले अब हुलाक सेवालाई डिजिटल र आधुनिक प्रविधिसँग नजोडी, यसको संरचनालाई सबल वा प्रभावकारी नबनाई र सेवा प्रवाहमा लाग्ने समयलाई उल्लेख्य रूपमा नघटाई हुलाकलाई बजारमा लोकप्रिय सेवा प्रदायकका रूपमा टिकाइराख्न नसकिने स्पष्ट पारे। निजी क्षेत्रको तीव्र प्रतिस्पर्धा र नागरिकको बदलिँदो जीवनशैलीका बीच हुलाकले आफ्नो परम्परागत साख जोगाउन संरचनागत सुधार गर्नैपर्ने उनको भनाइ थियो।
अहिलेको २१औँ शताब्दीमा नागरिकको सोच, समयको महत्त्व र उनीहरूको बढ्दो अपेक्षा निकै फरक भइसकेकाले हुलाकको समग्र डेलिभरी प्रणालीलाई नै पुनः डिजाइन (रि–डिजाइन) गरी नयाँ ढङ्गले सेवा सञ्चालन गर्न आवश्यक रहेको मन्त्री तिमिल्सिनाले औंल्याए।
उपभोक्ताको बदलिँदो मागलाई आत्मसात गरेर नयाँ प्रविधि र कार्यशैली अपनाउन सके मात्र हुलाक क्षेत्रले व्यावसायिक सफलता हासिल गर्न सक्ने उनको दाबी छ।
हुलाकलाई चिठीपत्र आदानप्रदान गर्ने परम्परागत कार्यमा मात्र सीमित नराखी समयानुकूल रूपान्तरण गर्दै लैजानु नै आजको मुख्य आवश्यकता भएको कुरामा मन्त्री तिमिल्सिनाले विशेष जोड दिएका छन्।






डिसी नेपाल





Facebook Comment