संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा प्रशासनिक समस्या समाधानबारे मन्त्री रावल र मुख्यमन्त्री यादवबीच छलफल
काठमाडौं। स्थानीय तहमा देखिएका विविध प्रशासनिक समस्या समाधान तथा संघ, प्रदेश र स्थानीय तहबीचको आपसी समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवबीच विशेष छलफल भएको छ।
मन्त्रालयमा भएको उक्त भेटवार्तामा विशेष गरी स्थानीय तहहरूमा लामो समयदेखि कायम कर्मचारी व्यवस्थापन, दरबन्दी मिलान, बजेट तर्जुमा प्रक्रिया तथा अन्य नीतिगत एवं प्रशासनिक चुनौतीका विषयमा विस्तृत समीक्षा गरिएको हो।
छलफलका क्रममा मधेश प्रदेशका मुख्यमन्त्री यादवले स्थानीय तहहरूले भोग्दै आएका नीतिगत र व्यावहारिक समस्याहरूबारे आफू र प्रदेश सरकार पूर्ण रूपमा जानकार रहेको उल्लेख गरे। उनले ती समस्याहरूलाई बेलैमा सम्बोधन गरी सुशासनको प्रत्याभूति दिलाउन प्रदेश सरकारका तर्फबाट आवश्यक पर्ने सम्पूर्ण नीतिगत पहल, समन्वय र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
यसै गरी, संघीय मामिला मन्त्री रावलले स्थानीय तहको बजेट तर्जुमा प्रक्रियालाई थप प्रभावकारी, समयसापेक्ष र व्यवस्थित बनाउन मन्त्रालयले चालेको कदमबारे जानकारी दिइन्।
उनले मन्त्रालयका तीन जना अनुभवी सहसचिवहरूको नेतृत्वमा विशेष टोली परिचालन गरी स्थलगत रूपमै सहजीकरण तथा समन्वयको कार्य अघि बढाइएको स्पष्ट पारिन्। उक्त टोलीहरूले विभिन्न पालिकाका प्रमुख, उपप्रमुख तथा सम्बन्धित प्रशासनिक पदाधिकारीहरूसँग प्रत्यक्ष छलफल गरी स्थानीय तहका वास्तविक समस्या, आवश्यकता र आगामी चुनौतीबारे विस्तृत स्थलगत विवरण संकलन गरिसकेको मन्त्री रावलले बताइन्।
स्थानीय तहका विद्यमान समस्याहरूको स्थायी समाधानका लागि संघ, प्रदेश र स्थानीय सरकारबीचको त्रिपक्षीय र प्रभावकारी समन्वय अपरिहार्य रहेकोमा जोड दिँदै मन्त्री रावलले मन्त्रालयले स्थानीय सरकारहरूलाई थप व्यवस्थित, उत्तरदायी र नागरिकमुखी बनाउन आफ्ना तर्फबाट आवश्यक प्रयास र सहयोगलाई निरन्तरता दिने दृढता व्यक्त गरिन्।
दुई नेताबीचको उक्त महत्वपूर्ण छलफलमा संघीय मामिला मन्त्रालयका सचिव, सहसचिवहरूका साथै प्रतिनिधि सभा सदस्य रहबर अन्सारी लगायत अन्य उच्च अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।






डिसी नेपाल





Facebook Comment