७ वर्ष अलपत्र परेको मर्स्याङ्दी करिडोर प्रसारण लाइन डेढ वर्षमै सम्पन्न: निजी क्षेत्रको ऐतिहासिक सफलता

डिसी नेपाल
१६ असार २०८३ १४:३४

काठमाडौं। नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पहिलो पटक प्रसारण पूर्वाधार निर्माणमा आफ्नो उच्च क्षमता प्रमाणित गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ।

विगत ७ वर्षदेखि अलपत्र अवस्थामा रहेको मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी मार्कीचोक-भरतपुर प्रसारण लाइनको २८ किलोमिटर खण्ड निजी क्षेत्रको सक्रिय सहभागितामा मात्र डेढ वर्षभित्र निर्माण सम्पन्न भई परीक्षण सञ्चालनमा आएको छ।

यस अभूतपूर्व उपलब्धिसँगै निजी क्षेत्र जलविद्युत उत्पादनमा मात्र सीमित नरही प्रसारण लाइन निर्माण तथा भविष्यमा विद्युत व्यापार गर्नसमेत पूर्ण रूपमा सक्षम रहेको स्पष्ट सन्देश प्रवाह भएको ऊर्जा क्षेत्रका सरोकारवालाहरूले बताएका छन्।

यो प्रसारण लाइन निर्माणको जिम्मा प्रारम्भमा चिनियाँ कम्पनी पिङ्गाओ ग्रुपले वि.सं. २०७४ साल कार्तिकमा पाएको थियो। तर, ७ वर्षभन्दा बढीको लामो अवधिमा पनि उक्त कम्पनीले कुल ८४ वटा टावरमध्ये भौतिक रूपमा ३५ वटा फाउन्डेसन र १० वटा टावरको इरेक्सन मात्रै सम्पन्न गर्न सकेको थियो।

चिनियाँ कम्पनीका कारण निर्माण कार्य अत्यन्तै सुस्त र निराशाजनक बनेपछि नेपाल विद्युत प्राधिकरणले २०८१ मंसिर ५ गते बाँकी रहेको कामको सम्पूर्ण जिम्मेवारी निजी क्षेत्रलाई सुम्पिने ठोस निर्णय गरेको थियो।

त्यसपछि मर्स्याङ्दी करिडोरका ७ वटा जलविद्युत आयोजनाहरूले संयुक्त रूपमा करिब ४ करोड ९७ लाख रुपैयाँ लगानी जुटाई भीभा कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ कन्सर्न र भूगोल इन्फ्रास्ट्रक्चर कम्पनीमार्फत निर्माण कार्यलाई द्रुत गतिमा अघि बढाएका थिए।

आयोजनाको प्रभावकारी समन्वय र सहजीकरणका लागि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोन लामाको नेतृत्वमा एक विशेष समिति गठन गरिएको थियो।

निजी क्षेत्रले जिम्मेवारी सम्हालेपछि आयोजनाले तीव्र गति लियो र छोटो अवधिमै बाँकी रहेका सबै टावरहरूको फाउन्डेसन र ७८ वटा टावरको इरेक्सन पूरा गर्दै २८ किलोमिटर लामो प्रसारण लाइन निर्माण सम्पन्न गरियो।

यस प्रसारण पूर्वाधार निर्माणमा ५४ मेगावाटको सुपर दोर्दी, १२ मेगावाटको दोर्दी खोला-१, २७ मेगावाटको दोर्दी खोला, ३० मेगावाटको न्यादी, ८.६ मेगावाटको चेपे खोला र ९.०५ मेगावाटको सुपर चेपे खोला जलविद्युत आयोजनाको प्रत्यक्ष लगानी रहेको छ।

इप्पानका वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोन लामाले वर्षौंसम्म सम्पन्न हुन नसकेको राष्ट्रिय गौरवको आयोजना निजी क्षेत्रले केवल डेढ वर्षमै पूरा गरेर आफ्नो कार्यक्षमता साबित गरेको बताए। प्रसारण लाइनको अभावमा उत्पादित विद्युत खेर गइरहेको विद्यमान जटिल अवस्थामा निजी क्षेत्रले यो जिम्मेवारी पूरा गरेर देशको ऊर्जा इतिहासमा नयाँ मोड ल्याएको उनको भनाइ छ।

युरोपियन लगानी बैंकको ऋण सहयोग तथा नेपाल सरकार र प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको यो आयोजनालाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने अन्तिम तयारी पूरा भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

तनहुँको आँबुखैरेनीस्थित न्यू मर्स्याङ्दी सबस्टेसनदेखि चितवनको भरतपुरस्थित न्यू भरतपुर सबस्टेसनसम्म फैलिएको यो २२० केभी डबल सर्किट प्रसारण लाइनमा हाल परीक्षणका रूपमा उच्च भोल्टेज विद्युत प्रवाह सुरु गरिएको छ।

यो परीक्षण सफल भएलगत्तै प्रसारण लाइन नियमित सञ्चालनमा आउनेछ, जसबाट मर्स्याङ्दी, दोर्दी, त्रिशूली र तिनका सहायक नदीहरूमा निर्माण भएका तथा निर्माणाधीन निजी क्षेत्रका आयोजनाहरूको विद्युत राष्ट्रिय ग्रिडमा जोडिनेछ। यसले गर्दा विगतमा पूर्वाधार अभावले उपयोग हुन नसकेको विद्युत अब राष्ट्रिय प्रणालीमार्फत आन्तरिक उपभोग र वैदेशिक व्यापारका लागि उपयोग गर्न सकिने मार्ग प्रशस्त भएको छ।

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक एवं पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले यस आयोजनाको सम्पन्नतालाई नेपालको ऊर्जा विकासका लागि एउटा कोशेढुङ्गा र महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन्।

प्रारम्भिक निर्माण कम्पनीबाट समयमै काम हुने छाँटकाँट नदेखिएपछि निजी क्षेत्रले अघि बढेर आयोजना सम्पन्न गर्नु सार्वजनिक-निजी साझेदारीको उत्कृष्ट र उदाहरणीय नमुना भएको उनको ठहर छ।

उनले मर्स्याङ्दी करिडोरको बाँकी खण्ड पनि चाँडै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै वन कटानी, जग्गा अधिग्रहण तथा कानुनी प्रक्रियामा हुने प्रशासनिक ढिलाइ हटाउन सरकारले आवश्यक नीतिगत सुधार गर्नुपर्ने सुझाव दिएका छन्। उत्पादनसँगै प्रसारण पूर्वाधारलाई समान प्राथमिकता नदिए भविष्यमा ठूलो परिमाणमा राष्ट्रिय ऊर्जा खेर जाने जोखिम रहने उनले औंल्याए।

यसैबीच, नेपाल विद्युत प्राधिकरणले हाल प्रसारण लाइनको परीक्षण भइरहेकाले सो लाइन वरपरका स्थानीय बासिन्दाहरूलाई विशेष सावधानी अपनाउन अपिल गरेको छ।

प्राधिकरणले ड्युटीमा रहेका प्राविधिकहरूको निर्देशन पालना गर्न, बिनाअनुमति टावरमा नलगाउन वा नचढ्न, विद्युतीय संरचनाहरू नछुन, टावर आसपासका क्षेत्रमा गाईवस्तुहरू नलग्न र लाइनमा कुनै पनि किसिमको असामान्य अवस्था वा झिल्का चम्केको देखिएमा तत्काल नजिकैको प्रहरी चौकी वा प्राधिकरणको कार्यालयमा जानकारी गराउन स्थानीय समक्ष विशेष अनुरोध गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *