रास्वपाको नयाँ कार्यसमितिको शपथ आज: रवि लामिछानेसहित निर्वाचित टोलीले सम्हाल्दै कमान

डिसी नेपाल
१७ असार २०८३ ७:२०

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आज आयोजना गरिँदैछ। काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे शपथ ग्रहणको समय तय गरिएको रास्वपा सचिवालयले जनाएको छ।

चितवनमा असार ७ गतेदेखि सुरु भएको पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन निर्धारित तीन दिनमा सम्पन्न हुन नसकेपछि सहमतिको प्रयास गर्दागर्दै ६ दिनसम्म लम्बिएर असार १२ गते मात्र समापन भएको थियो।

महाधिवेशनले पार्टी सभापतिमा रवि लामिछानेलाई सर्वसम्मत चयन गर्नुका साथै उपसभापतिद्वयमा डा. स्वर्णिम वाग्ले र सोभिता गौतम, महामन्त्रीमा विपिन कुमार आचार्य तथा सहमहामन्त्रीहरूमा हरि ढकाल, असिम शाह र निशा डाँगीसहित ७ जना प्रमुख पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचित गरेको थियो।

संशोधित विधान अनुसार रास्वपाको १५० सदस्यीय केन्द्रीय कार्यसमितिमा महाधिवेशनबाट निर्वाचित ९९ जना रहने र बाँकी ५१ जना सदस्य भने निर्वाचित समितिको सिफारिसमा सभापतिद्वारा मनोनीत गरिने वैधानिक व्यवस्था छ। निर्वाचित पदाधिकारी र सदस्यहरूको शपथ तथा पहिलो केन्द्रीय कमिटी बैठक सम्पन्न भएपछि मात्र मनोनीत प्रक्रिया अघि बढ्ने बताइएको छ।

यसैबीच, निर्वाचन समितिले घोषणा गरेको ९९ जना केन्द्रीय सदस्यहरूको अन्तिम सूचीमा दुई जनाको नाम हेरफेर गरिएपछि पार्टीभित्र नयाँ विवाद सतहमा आएको छ। निर्वाचन परिणामको प्रारम्भिक सूचीमा परेका दुई जना उम्मेदवारको नाम पछि हटाएर नयाँ दुई जनालाई समेटिएको भन्दै असन्तुष्ट पक्षले नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाएका छन्।

क्लस्टर र मत गणनाको प्राविधिक त्रुटि सच्याइएको दाबी संस्थापन पक्षले गरे पनि महाधिवेशन प्रतिनिधि र उम्मेदवारहरूबीच यो विषयलाई लिएर असन्तुष्टि चुलिएको छ। आन्तरिक असन्तुष्टि र कार्यसमिति चयनका क्रममा देखिएको ३० प्रतिशत मात्र न्यून मतदानको व्यवस्थापन गर्दै असन्तुष्ट पक्षलाई समेट्नु नवनिर्वाचित नेतृत्वका लागि पहिलो चुनौती बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *