प्रचण्डको खुलासा: नारायणहिटी सफा गरेर देशलाई अर्कै युगमा लैजाने चर्चा हुँदै थियो
पोखरा। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जेनजी’ आन्दोलनको आसपासमा नारायणहिटी दरबार सफा गर्न लगाइएको सूचना आफूले पाएको दाबी गरेका छन्। पार्टीको गण्डकी प्रदेश समिति एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
सम्बोधनका क्रममा संयोजक प्रचण्डले भदौ २६ गते राति राष्ट्रपति निवास शीतलनिवासमा प्रमुख दलका नेताहरू बसेर देशलाई सम्भावित दुर्घटनाबाट बचाउन गम्भीर विमर्श गरेको स्मरण गरे।
सोही अवधिमा नागरिकस्तरमा ‘नारायणहिटी दरबार सफा गरिँदैछ र केही घण्टाभित्रै देश अर्कै युगमा जाँदैछ’ भन्नेसम्मका परिचर्चाहरू चलेको उल्लेख गर्दै उनले पछि बुझ्दा वास्तवमै दरबार सफा गर्न लगाइएको पुष्टि भएको जिकिर गरे।
जनता, कार्यकर्ता र नेताहरूबीचको सम्बन्ध विच्छेद भएको असाधारण परिस्थितिबाट देश गुज्रिएकाले आफूहरू व्यक्तिगत फाइदाभन्दा माथि उठेर मुलुकको हितका लागि केन्द्रित भएको उनको भनाइ थियो।
संसद् विघटनको प्रसंग जोड्दै प्रचण्डले आफूहरू सुरुदेखि नै संसद् विघटनको विपक्षमा रहेको स्पष्ट पारे। नयाँ प्रधानमन्त्रीको अनुमोदन संसद्बाटै हुनुपर्ने अडान अन्तिम समयसम्म राखेको भए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै अन्तरिम सरकार गठनका लागि पत्र लेखेको उनले दोहोर्याए।
ओलीको सोही सिफारिस र पत्र देखेपछि मात्रै देशलाई थप अराजकता र दुर्घटनामा जान नदिन आफूहरूले अन्तरिम सरकार र निर्वाचनको बाटो स्वीकार गरेको उनको दाबी छ।






डिसी नेपाल





Facebook Comment