थमन विक हत्या प्रकरण : उच्च अदालतबाट अभिराम शर्मासहित चार जनाको जन्मकैदको सजाय घट्यो

डिसी नेपाल
१७ असार २०८३ २०:१०

जनकपुरधाम । सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीबाट जन्मकैदको सजाय पाएका मधेश प्रदेशसभाका निलम्बित सांसद अभिराम शर्माले उच्च अदालतबाट राहत पाएका छन्। उच्च अदालत जनकपुरले जिल्ला अदालतको फैसला उल्टाउँदै शर्मासहित चारजनाको हकमा पाँच वर्ष कैद सजायको आदेश सुनाएको छ।

उच्च अदालत जनकपुरका न्यायाधीशद्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले सो प्रकरणमा यसअघि जिल्ला अदालतले गरेको फैसलालाई आंशिक रूपमा परिमार्जन गरेको हो। अदालतले संजय साह, मोहन ठाकुर र प्रदीप रायका हकमा भने जिल्ला अदालतको जन्मकैदको सजाय नै सदर गरेको छ।

यसैगरी, अभिराम शर्माका साथै धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जिल्ला अदालतले तोकेको जन्मकैदको सजायलाई बदर गर्दै जनही पाँच वर्ष कैद सजाय कायम गरेको छ।

तत्कालीन लोसपाका संसदीय दलका नेता रहेका शर्मालाई जन्मकैदको सजाय सुनाइएपछि उनी हाल फरार छन् भने मधेश प्रदेशसभाले उनलाई यसअघि नै निलम्बन गरिसकेको छ।

२०८० मंसिर २८ गते जिल्ला अदालत महोत्तरीका न्यायाधीश उद्धबप्रसाद भट्टराईको इजलासले शर्मा लगायत ७ जनालाई जन्मकैदको सजाय सुनाएको थियो। उक्त फैसला विरुद्ध शर्माका बुवा महेन्द्र शर्मा, मिश्रकी श्रीमती संगीता कुमारी शर्मा, पाण्डेकी छोरी प्रियंका पाण्डे र रायका दाजु अरविन्द कुमार रायले उच्च अदालतमा पुनरावेदन दिएका थिए। अढाई वर्षको अवधिमा ५०औं पेशीपछि अदालतले सो फैसला सुनाएको हो, जसमध्ये ४९ वटा पेशी विभिन्न कारणले स्थगित भएका थिए।

२०७२ भदौ २५ गते मधेश आन्दोलनका क्रममा ड्युटीका लागि महोत्तरी आएका असई थमन विकमाथि आन्दोलनकारीले आक्रमण गरेका थिए। गम्भीर घाइते भएका विकलाई जलेश्वर अस्पतालमा उपचार हुन नसकेपछि एम्बुलेन्समा जनकपुर ल्याउँदै गर्दा महोत्तरीको तत्कालीन अनैठा गाविसमा आन्दोलनकारीले एम्बुलेन्सबाट थुतेर पुन: कुटपिट गर्दा उनको मृत्यु भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *