हर्मुज जलघाँटीमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति : क्षेत्रीय सुरक्षा सम्बन्धित देशहरूले नै सम्हाल्नुपर्ने अडान
तेहरान। इरानले पर्सियन खाडी र हर्मुज जलघाँटीको सुरक्षा व्यवस्थामा अमेरिकी नेतृत्व वा हस्तक्षेप स्वीकार्य नभएको स्पष्ट पारेको छ।
इरानले क्षेत्रीय सुरक्षा बाह्य सैन्य गठबन्धनबाट नभई त्यही क्षेत्रका सम्बन्धित देशहरू मिलेर नै सुनिश्चित गर्नुपर्ने आफ्नो पुरानो अडानलाई पुनः दोहोर्याएको हो।
इरानका कानुनी तथा अन्तर्राष्ट्रिय मामिला सम्बन्धी उपविदेशमन्त्री काजेम गरिबाबादीले हालै बहराइनमा सम्पन्न अमेरिकी नेतृत्वको क्षेत्रीय सुरक्षा सम्मेलनको कडा आलोचना गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन्।
उपविदेशमन्त्री गरिबाबादीले सामाजिक सञ्जाल एक्स (ट्विटर) मार्फत हर्मुज जलघाँटी इरानको सुरक्षा अवधारणा र क्षेत्राधिकार अन्तर्गत पर्ने उल्लेख गर्दै यस महत्त्वपूर्ण जलमार्गको व्यवस्थापन अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले निर्धारण गर्न नसक्ने स्पष्ट पारेका छन्।
बहराइनमा आयोजित सैन्य सम्मेलनले पर्सियन खाडीको कानुनी व्यवस्था वा सुरक्षा संरचना तय गर्ने कुनै हैसियत नराख्ने उनको भनाइ थियो। उनले क्षेत्रीय स्थायित्व विदेशी सैन्य उपस्थितिबाट कहिल्यै सम्भव नहुने जिकिर गरे।
साथै, अमेरिकी हस्तक्षेपको पूर्ण अन्त्य, यस क्षेत्रबाट अमेरिकी सेनाको फिर्ती, सम्बन्धित देशहरूको सार्वभौमिकताको सम्मान तथा बदलिँदो भूराजनीतिक यथार्थको स्वीकारोक्तिबाट मात्रै मध्यपूर्वमा दीर्घकालीन सुरक्षा सुनिश्चित हुने धारणा उनले राखेका छन्।
इरानी उपविदेशमन्त्रीको यो तीखो प्रतिक्रिया बहराइनमा अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) को प्रत्यक्ष पहलमा सम्पन्न क्षेत्रीय सुरक्षा सम्मेलन सञ्चालन भएलगत्तै आएको हो।
उक्त रणनीतिक सम्मेलनमा बहराइन, इजिप्ट, जोर्डन, कुवेत, लेबनान, ओमान, कतार, साउदी अरेबिया, सिरिया, संयुक्त अरब इमिरेट्स (यूएई) र यमनका वरिष्ठ सैन्य अधिकारीहरूको सहभागिता रहेको थियो भने सम्मेलनको नेतृत्व सेन्टकमका कमान्डर एडमिरल ब्राड कुपरले गरेका थिए।
उक्त बैठकमा हर्मुज जलघाँटी हुँदै हुने अन्तर्राष्ट्रिय व्यापारिक जहाजहरूको निर्बाध आवागमन सुनिश्चित गर्ने साझा प्रतिबद्धतामाथि गहन छलफल भएको सेन्टकमले जनाएको छ।
साथै क्षेत्रीय सुरक्षा, रक्षा सहकार्य र विकसित सुरक्षा चुनौतीहरूको सामना गर्न आपसी समन्वय विस्तार गर्ने विषयमा सहभागी राष्ट्रहरूबीच सहमति भएको बताइएको छ। एडमिरल कुपरले क्षेत्रीय साझेदारहरूसँगको सहकार्यलाई सुरक्षा र स्थिरताको बलियो आधारका रूपमा व्याख्या गरेका छन्।
सेन्टकमका अनुसार यस सम्मेलनमा सिरिया र लेबनानका सैन्य अधिकारीहरू इतिहासमै पहिलो पटक अमेरिकी नेतृत्वको क्षेत्रीय सुरक्षा संवादमा सहभागी भएका हुन्।
सेन्टकमले मध्यपूर्वमा सूचना आदानप्रदान, खतराको पूर्वसूचना र आकस्मिक प्रतिकार्यका लागि क्षेत्रीय साझेदारहरूसँग मिलेर हवाई तथा मिसाइल प्रतिरक्षा संयन्त्रलाई थप सुदृढ बनाउँदै आएको समेत दाबी गरेको छ।






डिसी नेपाल





Facebook Comment