सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विषयविज्ञ नियुक्त

डिसी नेपाल
१८ असार २०८३ १२:४६

काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को प्राज्ञिक गरिमालाई उच्च बनाउन एकेडेमिक काउन्सिलमा चार जना विषयविज्ञहरूलाई सदस्यका रूपमा मनोनयन गरेको छ।

मन्त्रालयले सूचना प्रविधि, उद्योग, स्टेम शिक्षा तथा नर्सिङ एवं जनस्वास्थ्य क्षेत्रमा लामो अनुभव सँगालेका विज्ञहरूलाई काउन्सिलको जिम्मेवारी सुम्पेको हो। नयाँ मनोनित सदस्यहरूमा आईटी तथा डिजिटल नीति विज्ञ डा. अमृता शर्मा, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे, कर्खानाका सह-संस्थापक एवं स्टेम शिक्षा विज्ञ डा. दिपेश्वर मान श्रेष्ठ र नर्सिङ तथा जनस्वास्थ्य क्षेत्रकी विज्ञ प्रमिला राना रहेका छन्।

सिटिइभिटिको एकेडेमिक काउन्सिल परिषद्को शैक्षिक तथा प्राज्ञिक नेतृत्व गर्ने प्रमुख निकाय भएकाले यसले पाठ्यक्रम विकास, नयाँ कार्यक्रमहरूको स्वीकृति, शैक्षिक गुणस्तर सुनिश्चितता, मूल्यांकन प्रणाली परिमार्जन तथा प्राविधिक एवं व्यावसायिक शिक्षाको दीर्घकालीन नीतिगत दिशानिर्देशनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गर्दछ।

काउन्सिल सदस्यमा नियुक्त डा. अमृता शर्मा सूचना प्रविधि, डिजिटल रूपान्तरण, डिजिटल अर्थतन्त्र तथा सार्वजनिक नीतिका क्षेत्रमा सक्रिय अनुसन्धानकर्ता एवं नीतिगत विज्ञका रूपमा स्थापित छिन्।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा रोजगारीयोग्यता विषयमा विद्यावारिधि (पीएचडी) गरेकी शर्माले सूचना प्रविधि उद्योगको विकास, डिजिटल सीप, सेवा निर्यात तथा नीतिगत सुधारका विषयमा उल्लेखनीय अध्ययन गरेकी छन्।

उनकै नेतृत्वमा एकीकृत विकास अध्ययन संस्थान (आईआईडीएस) ले सञ्चालन गरेको ‘अनलिसिङ आईटी: एड्भान्सिङ नेपाल्स डिजिटल इकोनोमी’ अध्ययनले नेपाललाई सूचना प्रविधि सेवा निर्यातको प्रमुख गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना औँल्याउँदै आवश्यक नीतिगत सुधार र दक्ष जनशक्ति विकासमा महत्त्वपूर्ण सुझावहरू प्रस्तुत गरेको थियो।

त्यस्तै, अर्का सदस्य एवं नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे निर्माण, पूर्वाधार तथा औद्योगिक क्षेत्रका स्थापित उद्यमी हुन्।

इन्जिनियरिङ पृष्ठभूमि भएका पाण्डेले तीन दशकभन्दा बढी समयदेखि निर्माण व्यवसाय, पूर्वाधार विकास तथा निजी क्षेत्रको व्यावसायिक नेतृत्व गर्दै आएका छन्।

उद्योग क्षेत्रमा उनको लामो अनुभवले प्राविधिक शिक्षालाई उद्योगको वास्तविक आवश्यकता, आधुनिक उत्पादन प्रणाली र श्रम बजारसँग अझ व्यावहारिक रूपमा जोड्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।

एकेडेमिक काउन्सिलमा समेटिएका कर्खानाका सह-संस्थापक डा. दिपेश्वर मान श्रेष्ठले अमेरिकाको टफ्ट्स विश्वविद्यालयबाट स्टेम शिक्षामा विद्यावारिधि प्राप्त गरेका छन्।

उनले नेपालमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितमा आधारित व्यावहारिक सिकाइ, शिक्षकहरूको व्यावसायिक क्षमता विकास, ‘मेकिङ’ संस्कृतिको प्रवर्द्धन तथा नवप्रवर्तनमुखी शिक्षाको विस्तारमा उल्लेखनीय योगदान दिँदै आएका छन्।

डा. श्रेष्ठको आगमनले सिटिइभिटिको प्राविधिक शिक्षालाई सिर्जनशीलता, अनुसन्धान र उद्यमशीलतासँग एकाकार गर्न बलियो आधार प्रदान गर्ने विश्वास लिइएको छ।

काउन्सिलकी चौथो सदस्य प्रमिला रानाले भारतबाट नर्सिङमा स्नातकोत्तर उपाधि हासिल गर्नुका साथै नेदरल्यान्ड्सको वागेनिङ्गेन विश्वविद्यालयबाट स्वास्थ्य तथा समाज विषयमा फेलोसिप पूरा गरेकी छन्।

हाल नेपाल रेडक्रस सोसाइटीमा क्लिनिकल कोअर्डिनेटरका रूपमा कार्यरत रानाले यसअघि सेभ द चिल्ड्रेन, नर्भिक इन्टरनेशनल अस्पताल लगायतका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूमा जनस्वास्थ्य, नर्सिङ सेवा, आपत्कालीन प्रतिकार्य तथा वास कार्यक्रमको नेतृत्वदायी जिम्मेवारी सम्हालिसकेकी छन्।

यसरी सूचना प्रविधि, उद्योग, स्टेम शिक्षा र जनस्वास्थ्य जस्ता फरक तर अत्यन्तै महत्त्वपूर्ण क्षेत्रका अनुभवी र प्राज्ञिक व्यक्तित्वहरूको सहभागिताले सिटिइभिटिको एकेडेमिक काउन्सिललाई बहुआयामिक विशेषज्ञता प्रदान गर्ने विश्वास गरिएको छ।

यस गरिमामय मनोनयनले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षालाई आधुनिक प्रविधिको रफ्तार, उद्योगहरूको माग, नवप्रवर्तन र देश-विदेशको श्रम बजारसँग थप प्रभावकारी रूपमा जोड्दै गुणस्तरीय, प्रतिस्पर्धी र पूर्ण रूपमा रोजगारमुखी शिक्षा प्रणालीको विकासमा कोसेढुङ्गा सावित हुने अपेक्षा सरकारले राखेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *