त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाले लिए शपथ, सदस्यमा प्रा. डा. रेजिना मास्के

डिसी नेपाल
१८ असार २०८३ १३:४४

काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयमा आयोजित एक विशेष समारोहका बिच त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

विश्वविद्यालयका सहकुलपति समेत रहेका शिक्षा तथा खेलकुद प्रविधि मन्त्री सस्मित पोखरेलले सिंहदरबारस्थित मन्त्रालयमा आज नवनियुक्त अध्यक्ष थापालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले नेपाल सरकारका पूर्व सचिव एवं वरिष्ठ सहरी योजनाविद् थापालाई सेवा आयोगको अध्यक्ष पदमा नियुक्त गरेका हुन्।

यसै गरी, शिक्षामन्त्री पोखरेलकै उपस्थितिमा सेवा आयोगकी नवनियुक्त सदस्य प्रा. डा. रेजिना मास्केलाई नवनियुक्त अध्यक्ष थापाले पद तथा गोपनीयताको शपथ गराए।

यी दुवै नियुक्तिहरू त्रिभुवन विश्वविद्यालयको सेवा आयोगलाई थप प्रभावकारी, पारदर्शी, निष्पक्ष र योग्य जनशक्तिमैत्री बनाउने उद्देश्यका साथ गरिएको मन्त्रालयले जनाएको छ।

शपथ ग्रहण पश्चात् संक्षिप्त प्रतिक्रिया दिँदै नवनियुक्त अध्यक्ष थापाले त्रिवि सेवा आयोगको गरिमामय जिम्मेवारीलाई निर्भीकता, निष्पक्षता र इमानदारिताका साथ निर्वाह गर्ने दृढता व्यक्त गरे।

उनले विश्वविद्यालयमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरूको वृत्तिविकास, पेसागत दक्षता अभिवृद्धि र समग्र त्रिविको संस्थागत सुधारमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता जनाए।

अध्यक्ष थापाले आफ्नो सेवा अवधिमा त्रिवि सेवा आयोग र समग्र विश्वविद्यालयको उन्नति र प्रगति गर्दै, यसको विगतको गौरवशाली इतिहासलाई मनन गरी २१ औँ शताब्दीका नयाँ चुनौतीहरूको सामना गर्न अहोरात्र खटिने विश्वास दिलाए।

उनले देशकै सबैभन्दा ठूलो र सम्मानित विश्वविद्यालयको सेवा आयोगजस्तो जिम्मेवार पदमा आफूलाई विश्वास गरेकोमा नेपाल सरकारप्रति विशेष आभार समेत प्रकट गरे।

शिक्षा तथा खेलकुद प्रविधि मन्त्री पोखरेलको नेतृत्वमा गठित अध्यक्ष सिफारिस समितिले गत जेठ महिनामा सेवा आयोगको अध्यक्ष पदका लागि इच्छुक योग्य व्यक्तिहरूबाट खुला आवेदन आह्वान गरेको थियो।

निर्धारित प्रक्रियाअनुसार प्राप्त आवेदनहरूको योग्यता, अनुभव, नेतृत्व क्षमता तथा कार्यसम्पादनको विस्तृत अध्ययन, मूल्यांकन र अन्तर्वार्तापछि समितिले तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा कुलपति एवं प्रधानमन्त्री शाहले थापालाई अध्यक्षमा मनोनीत गरेका हुन्।

स्थापित आर्किटेक्ट तथा सहरी योजनाविद्का रूपमा परिचित नवनियुक्त अध्यक्ष किशोर थापाले नेपाल सरकारको निजामती सेवामा चार दशकभन्दा बढी समय विभिन्न महत्त्वपूर्ण जिम्मेवारीहरूमा रहेर विशिष्ट योगदान दिएका छन्।

उनले यसअघि सहरी विकास मन्त्रालय, शिक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जल तथा ऊर्जा आयोगको सचिवालयमा सचिवका रूपमा सफलतापूर्वक कार्यसम्पादन गरिसकेका छन्।

उनले राष्ट्रिय आवास योजना, राष्ट्रिय सहरी विकास रणनीति, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम नीति एवं नेपाल पर्यटन वर्ष २०११ जस्ता देशका दूरगामी महत्त्वका नीति तथा कार्यक्रमहरूको निर्माण र कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

भूकम्पपछिको पुनर्निर्माण अभियानमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिका विज्ञ सदस्यका रूपमा समेत योगदान दिएका थापा हाल नेपाल इन्स्टिच्युट अफ अर्बन एन्ड रिजनल स्टडिजमा सहरी योजना विज्ञ तथा काठमाडौं विश्वविद्यालयमा भिजिटिङ फ्याकल्टीका रूपमा आबद्ध छन्।

आवास, सहरी विकास, पूर्वाधार, विपद् व्यवस्थापन तथा सार्वजनिक नीतिका क्षेत्रमा उहाँसँग निकै लामो र परिपक्व अनुभव रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *