एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध अनुसन्धानका लागि तेस्रोपटक ६ दिन म्याद थप

डिसी नेपाल
१८ असार २०८३ १४:३६

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि न्यायिक हिरासतमा रहेका नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलविरुद्ध अनुसन्धान गर्न विशेष अदालतले थप ६ दिनको म्याद अनुमति दिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानको प्रक्रिया नसकिएको भन्दै म्याद थपका लागि बिहीबार विशेष अदालतमा पेस गरेको थियो।

विशेष अदालतका न्यायाधीश हेमन्त रावलसहितको इजलासले पौडेललाई हिरासतमा राखी अनुसन्धान अघि बढाउन विभागलाई तेस्रोपटक ६ दिनको म्याद थप गरिदिएको हो। यसअघि अदालतले पहिलोपटक सात दिन र दोस्रोपटक तीन दिनको म्याद थप गरेको थियो।

विवादास्पद व्यवसायी दीपक भट्ट जोडिएको सेयर कारोबार र पौडेलको सम्पत्तिको शंकास्पद स्रोतमाथि विभागले विस्तृत अनुसन्धान गरिरहेको छ। अख्तियार दुरुपयोग र पदको सम्भावित दुरूपयोग गरी भट्टको इक्विटी खरिद प्रक्रियामा सहयोग पुर्‍याएको आरोप पौडेलमाथि लागेको छ।

सोही सिलसिलामा गत असार ८ गते पार्टीको एक कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका पौडेललाई विभागको टोलीले पक्राउ गरी काठमाडौं ल्याएको थियो। पूर्वअर्थमन्त्री समेत रहेका पौडेललाई हिरासतमा राखेर भइरहेको अनुसन्धानलाई निरन्तरता दिन अदालतले यो म्याद थपको आदेश जारी गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *