प्रिमियम मूल्यमा आईपीओ जारी गर्दै ‘बाजेको सेकुवा’: साउन १ गते विशेष साधारण सभा आह्वान

डिसी नेपाल
१९ असार २०८३ १४:०६

काठमाडौं। नेपालकै चर्चित रेष्टुरेन्ट ब्रान्ड बाजेको सेकुवा लिमिटेडले प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारी तीव्र पारेको छ।

कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत अर्थात् १५ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने प्रस्ताव अघि सारेको हो। यसका साथै संस्थापक सेयरधनीतर्फ पनि प्रिमियम मूल्यमै आईपीओ जारी गर्ने विषयमा छलफल भइरहेको कम्पनीले जनाएको छ।

आईपीओ निष्कासनको यो महत्त्वपूर्ण प्रस्ताव पारित गर्न कम्पनीले आगामी साउन १ गते काठमाडौंको बत्तीसपुतलीस्थित रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे विशेष साधारण सभा बोलाएको छ।

यस सभाले आईपीओ निष्कासनसम्बन्धी सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने एजेन्डा तय गरेको छ, जबकि यसअघि गत असोज २ गतेको वार्षिक साधारण सभाले पनि आईपीओ सम्बन्धी प्रस्ताव पारित गरिसकेको थियो।

कम्पनीले आईपीओ प्रक्रियाका लागि आवश्यक क्रेडिट रेटिङ गराइसकेको छ, जसमा केयर रेटिङ नेपालले बाजेको सेकुवालाई मध्यम स्तरको सुरक्षाको संकेत गर्ने ‘केयर एनपी त्रिपल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ।

पूँजी संरचनाको हिसाबले कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ र जारी पूँजी ७५ करोड रुपैयाँ रहेको छ भने संस्थापकतर्फ ६० करोड रुपैयाँ चुक्ता पूँजी कायम भएको छ।

विगत ४९ वर्षको लामो इतिहास बोकेको बाजेको सेकुवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको सिनामंगलबाट सानो स्तरमा सुरु भएको हो। परम्परागत नेपाली खाना र स्वादिष्ट सेकुवाका लागि प्रख्यात यस ब्रान्डका हाल नेपाल र विदेश गरी २९ वटा शाखाहरू सञ्चालनमा छन् भने यसको मेनुमा २०० भन्दा बढी परिकारहरू उपलब्ध छन्।

वि.सं. २०६६ कात्तिक २३ गते प्राइभेट लिमिटेडका रूपमा दर्ता भएको यो कम्पनी व्यापार विस्तार गर्दै २०८२ असार २५ गते पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको थियो।

पछिल्ला वर्षहरूमा कम्पनीको वित्तीय अवस्था बलियो बन्दै गएको देखिन्छ। आर्थिक वर्ष २०७८/७९ देखि २०८१/८२ सम्मको अवधिमा कम्पनीको सञ्चालन आम्दानी करिब ३१ प्रतिशतले वृद्धि भई ३८ करोड ८० लाख रुपैयाँ पुगेको छ।

नयाँ आउटलेटहरूको विस्तार, बलियो ब्रान्डिङ र रेष्टुरेन्ट सेवाप्रति ग्राहकको बढ्दो आकर्षणका कारण आम्दानीमा आकर्षक वृद्धि भएको कम्पनीको दाबी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *