सुनको मूल्यमा उछाल: एकै सातामा ११ हजार ६०० रुपैयाँले बढ्यो, प्रतितोला २ लाख ९० हजार नाघ्यो
काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा बढ्दो आर्थिक अनिश्चितता र सुरक्षित लगानी (सेफ हेभेन) प्रति लगानीकर्ताहरूको आकर्षण तीव्र बन्दै जाँदा नेपाली बजारमा पनि सुनको मूल्यले नयाँ उचाइ छोएको छ।
पछिल्लो एक साताको छोटो अवधिमा मात्रै सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले वृद्धि भई २ लाख ९० हजार ७०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत असार १२ गते प्रतितोला २ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन असार १९ गतेसम्म आइपुग्दा अहिलेसम्मकै उच्च बिन्दु नजिक पुगेको हो।
साताको बिचका दिनहरूमा सुनको मूल्यमा केही गिरावट देखिए पनि अन्त्यतिर लगातार दुई दिन ठुलो दरले मूल्य बढेपछि बजारमा सुनले पुनः उकालो यात्रा समातेको हो। महासंघको तथ्यांकअनुसार असार १४ गते सुन प्रतितोला ४ हजार ७०० रुपैयाँले बढेर २ लाख ८३ हजार ८०० रुपैयाँ पुगेको थियो।
त्यसपछिका दिनहरू अर्थात् असार १५, १६ र १७ गते लगातार तीन दिन मूल्य घटेर क्रमशः २ लाख ८२ हजार ४००, २ लाख ७७ हजार ९०० र २ लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। तर, असार १८ गते एकैदिन ६ हजार २०० रुपैयाँ र असार १९ गते थप ७ हजार २०० रुपैयाँले मूल्य बढेपछि सुनको बजारमा नयाँ रेकर्ड कायम हुन पुगेको हो।
सुन व्यवसायीहरूका अनुसार पछिल्ला दिनहरूमा विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता, विभिन्न क्षेत्रमा चर्किँदै गएको भूराजनीतिक तनाव, सम्भावित युद्धको जोखिम र प्रमुख मुलुकका केन्द्रीय बैंकहरूले सुनको मौज्दात बढाउने प्रवृत्तिका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको माग अत्यधिक बढेको छ।
यसका साथै अमेरिकी डलरको उतारचढाव र विश्वव्यापी ब्याजदर सम्बन्धी अपेक्षाले पनि सुनको मूल्यमा प्रत्यक्ष प्रभाव पारिरहेको छ। नेपालमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारको दर, अमेरिकी डलरको विनिमय दर र आयात लागतका आधारमा निर्धारण हुने भएकाले विश्व बजारमा देखिएको हलचलको प्रत्यक्ष प्रभाव स्वाभाविक रूपमा नेपाली बजारमा पनि प्रतिविम्बित भएको हो।
मूल्य लगातार बढेपछि नेपाली बजारमा सर्वसाधारणले गहना खरिद गर्ने योजना केही समयका लागि स्थगित गर्ने प्रवृत्ति देखिएको छ। यद्यपि, सुरक्षित सम्पत्तिका रूपमा लगानी गर्ने उद्देश्यले सुन खरिद गर्नेहरूको चासो भने झन् बढेको व्यवसायीहरू बताउँछन्।
अन्तर्राष्ट्रिय तनाव तत्काल कम नभए र विश्व बजारमा सुरक्षित लगानीको माग यस्तै उच्च रहिरहे आगामी दिनमा पनि सुनको मूल्य उच्च स्तरमै रहने वा थप बढ्न सक्ने अनुमान गरिएको छ। तर, विश्व राजनीतिक अवस्था र अमेरिकी मौद्रिक नीतिमा आउने फेरबदलले मूल्यको दिशा परिवर्तन गर्न सक्ने भएकाले आगामी दिनमा पनि बजारमा तीव्र उतारचढाव भने कायम रहने अपेक्षा गरिएको छ।






डिसी नेपाल





Facebook Comment