नयाँ वैकल्पिक शक्तिको रुपमा उज्यालो नेपाल पार्टी : उपमहासचिव लामा

डिसी नेपाल
२० असार २०८३ १८:२१

काठमाडौं। उज्यालो नेपाल पार्टीका उप–महासचिव जितराम लामाले राष्ट्रिय पहिचानको संरक्षण, राजनीतिक स्थिरता, सुशासन र युवा पुस्ताको आकांक्षालाई सम्बोधन गर्ने उद्देश्यले उज्यालो नेपाल पार्टी स्थापना गरिएको बताएका छन्।

शनिबार रामेछाप–सुनापति (काठमाडौं सम्पर्क मञ्च)द्वारा आयोजित प्रथम भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले नेपालमा धेरै राजनीतिक दल रहे पनि बदलिँदो राजनीतिक, सामाजिक र आर्थिक आवश्यकतालाई सम्बोधन गर्न नयाँ वैकल्पिक शक्तिको आवश्यकता भएकाले पार्टी गठन गरिएको बताए।

उनले भने, ‘हाम्रो राष्ट्रिय पहिचान र यहाँको विविधतालाई जगेर्ना गर्न र त्यो नेपालको ऐतिहासिक र सांस्कृतिक सम्पदालाई पनि विकासको आधारभूमिको रूपमा स्थापित गर्ने, नेपाल विविधताले भरिपूर्ण भएको देश हो।’

उनले नेपालको जातीय, सांस्कृतिक र भौगोलिक विविधतालाई विकासको आधारका रूपमा उपयोग गर्नुपर्नेमा बताए।

उनले भने, ‘यहाँ जातीय विविधता छ, भौगोलिक विविधता छ। विभिन्न जात, जाति, सम्प्रदाय, पेसा, व्यवसाय भएका भौगोलिक क्षेत्रहरू छन्, विकट क्षेत्रहरू पनि छ। त्यो सबै भौगोलिक विकटतालाई जोड्ने र यो विकासको बाधक होइन, सम्भावना हो, त्यसको लागि पनि पार्टीले सबैले एक बनाउनको लागि उज्यालो नेपाल पार्टी चाहिन्छ।’

विविधता विकासको बाधक नभई सम्भावनाको स्रोत भएको बताउँदै उनले सबै क्षेत्र, समुदाय र वर्गलाई एकताबद्ध गर्दै राष्ट्रिय पहिचानलाई सुदृढ बनाउने लक्ष्यका साथ पार्टी अघि बढेको बताए।

लामाले राजनीतिक अस्थिरता, भ्रष्टाचार र कुशासनका कारण मुलुकको विकास प्रभावित भएको बताए। उनले पुराना राजनीतिक दलहरूले वर्तमान चुनौतीको प्रभावकारी समाधान दिन नसकेको उल्लेख गरे। यही कारण नयाँ सोच र नयाँ नेतृत्वसहितको राजनीतिक विकल्प आवश्यक परेको उनले बताए।

उनले भने, ‘राजनीतिक अस्थिरता र भ्रष्टाचारले गर्दा विकास एकदम चरम रूपमा कुशासन थियो, सुशासन थिएन। देश अविकसित तर्फ गइरहेको थियो, अधोगतितिर गइरहेको थियो। त्यसको लागि पनि यो समस्यालाई यथार्थ रूपमा निरूपण गर्नको लागि अब नयाँ पार्टी चाहिन्छ।’

उनले विगतका राजनीतिक दल र नेताहरूको योगदानलाई सम्मान गर्दै नयाँ पुस्ताको ऊर्जा, आकांक्षा र सोचलाई जोड्ने साझा राजनीतिक मञ्चका रूपमा उज्यालो नेपाल पार्टीलाई विकास गरिएको उल्लेख गरे।

‘यो पुराना पार्टीले अब यो बदलिँदो परिस्थितिको लागि सम्बोधन गर्न सक्दैन, त्यसैले गर्दा नयाँ पार्टी चाहिन्छ,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *