विधान संशोधनमा उल्झन: केन्द्रीय समिति समायोजन विवादले विभाजनको संघारमा कांग्रेस
काठमाडाैं। नेपाली कांग्रेसभित्र गत पुस अन्तिम साता काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनपछि सुरु भएको आन्तरिक विवाद अहिले उत्कर्षमा पुगेको छ।
संस्थापन र असन्तुष्ट पक्षबीच पटक-पटक भएका वार्ता र संवादहरू निष्कर्षविहीन बन्दै जाँदा पार्टी स्पष्ट रूपमा विभाजनको दिशातिर उन्मुख हुन थालेको देखिएको छ।
यसैबीच, विशेष महाधिवेशनप्रति असहमति जनाउँदै आएका प्रभावशाली नेता डा. शेखर कोइरालाले पार्टी एकताको पक्षमा ठोस कदम चाल्न संस्थापन पक्षलाई असार २५ गतेसम्मकाे अल्टिमेटम दिएका छन्।
डा. कोइरालाले पार्टी उपसभापति विश्वप्रकाश शर्मामार्फत नेतृत्वलाई यो कडा सन्देश पठाएकाे काेइराला निकट स्राेतले जनाएकाे छ। बिहीबार बिहान डा. कोइरालाको धापासीस्थित निवासमा भएको भेटवार्तामा उनले संस्थापन पक्ष पार्टी मिलाउन तयार छ कि छैन भन्ने विषयमा असार २५ भित्र स्पष्ट निर्णय दिन माग गरेका थिए।
पार्टीभित्रको बढ्दो अन्तरकलह र आगामी रणनीति तय गर्न नेता कोइरालाले बिहीबार नै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, डा. प्रकाशशरण महत र एनपी साउदसँग छुट्टाछुट्टै गम्भीर छलफल गरेका थिए।
शीर्ष नेताहरूबीच आन्तरिक राजनीतिक भेटघाट तीव्र बनिरहेकै बेला शनिबार नेता डा. शेखर कोइराला र विमलेन्द्र निधिबीच बानेश्वर हाइटस्थित निधिको निवासमा झण्डै एक घण्टा संवाद भएको थियाे।
यसअघि बिहीबार पनि नेता निधि, पूर्वमहामन्त्री कोइराला र प्रकाशमान सिंहबीच छलफल भएको थियो भने शुक्रबार गल्फुटारमा संस्थापनइतर समूहको महत्त्वपूर्ण बैठक बसेको थियो, जसमा शेखर कोइराला भने उपस्थित भएका थिएनन्।
यसैबीच, पार्टीको संस्थापनइतर पक्षले काठमाडौंको चुनदेवीमा सोमबार आफ्नै सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवास गल्फुटारमा बसेको इतर समूहको बैठकले १५औं महाधिवेशनका सम्पूर्ण तयारी, सांगठनिक विस्तार र बैठकहरू सोही सम्पर्क कार्यालयबाट सञ्चालन गर्ने निर्णय गरेको थियाे।
प्रदेश भेलाहरूको समीक्षा गरिसकेको यो समूहले अब राष्ट्रिय भेलाको तयारी गरेको छ, जसको सोमबार बस्ने बैठकले टुंगो लगाउनेछ। इतर समूहले वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण गर्दै १५औँ महाधिवेशन ‘एकता महाधिवेशन’ हुने सम्भावना निकै क्षीण बन्दै गएको निष्कर्ष निकालेको छ।
संस्थापन पक्षले एकलौटी रूपमा गतिविधि अगाडि बढाउँदा धेरै साथीहरू मूलधारबाट बाहिरिने र यसले पार्टी एकता कमजोर बनाउने इतर पक्षको बुझाइ छ।
नेपाली कांग्रेसभित्रको यो मुख्य विवाद विशेष गरी पार्टीको केन्द्रीय समिति समायोजन र विधानको बाधा अड्काउ फुकाउने विषयमा अल्झिएको छ। सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माको सहमतिमा संवादमा खटिएका महामन्त्री गुरुराज घिमिरेले इतर समूहका शीर्ष नेताहरूसँग भेटवार्ता जारी राखेका छन्।
असन्तुष्ट इतर समूहले २०७८ मंसिरमा सम्पन्न १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका तर गत पुसको विशेष महाधिवेशनबाट चयन नभएका सबै १११ जना नेताहरूलाई वर्तमान केन्द्रीय समितिमा समाहित गर्नुपर्ने र यसका लागि विधानको बाधा अड्काउ फुकाउनुपर्ने अडान राखेको छ।
यसको विपरीत, संस्थापन पक्षले भने विधानले त्यति ठूलो संख्यामा मनोनीत गर्न नमिल्ने तर्क गर्दै विगतका केन्द्रीय सदस्यहरूमध्ये इच्छुकलाई निश्चित संख्यामा सम्मानपूर्वक केन्द्रीय समिति र कार्यसम्पादन समितिमा सहभागिता गराउने मध्यमार्गी प्रस्ताव अघि सारेको छ।
इतर समूहको माग पूरा गर्न विधानको धारा नै निलम्बन गर्नुपर्ने अवस्था देखिए पनि संस्थापन पक्ष यसमा तयार नभएकाले पछिल्ला संवादहरू बिनानिष्कर्ष टुङ्गिने गरेका छन्।
विवाद सुल्झाउन नेता डा. शेखर कोइरालाले विधान बाधक बन्ने अवस्थामा एउटा बलियो राजनीतिक संयन्त्र बनाउने प्रस्ताव गरेका छन् भने अर्कातर्फ निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गत पुस १० गतेभन्दा अघि नवीकरण भइसकेका क्रियाशील सदस्यहरूलाई कुनै पनि अद्यावधिकको झन्झटमा नराखी आगामी अधिवेशनको प्रक्रियामा सिधै सहभागी हुन दिनुपर्ने प्रस्ताव राखेका छन्।
इतर पक्षका यी एजेन्डाहरूमा संस्थापन पक्ष सकारात्मक रहेको दाबी गरिए पनि व्यवहारमा कुनै ठोस परिणाम नआउँदा नेपाली कांग्रेसभित्रको आन्तरिक कलहले पार्टीलाई नै विभाजनको सँघारमा पुर्याएको छ।






डिसी नेपाल





Facebook Comment